arrow

पर्यटनमन्त्री पाण्डेको आह्वान: 'हुनेलाई हुने, नहुनेलाई नहुने' भन्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
badri-01-06.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले 'हुनेलाई हुने र नहुनेलाई नहुने' भन्ने अभियान सञ्चालन गर्न आवश्यक भएको बताएका छन्। उनले योजना निर्माण प्रक्रियामा देखिएको 'हुन्छ' भन्ने परिपाटीले समस्या बढाएको औंल्याए।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालको सहकार्यमा आयोजित 'विकासका लागि संस्कृति' विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले योजना निर्माणका क्रममा वडाध्यक्षदेखि विभिन्न भ्रातृ संस्थाका सदस्यले ल्याएका योजनामा पनि 'हुन्छ' भनिदिने प्रवृत्तिका कारण 'योजना बनाउने' भन्दा 'योजना माग्ने' संस्कृति बढेको बताए। उनका अनुसार, नहुने काममा पनि 'हुन्छ' भनिदिँदा योजना माग्ने व्यक्ति धोकामा पर्ने र वचन दिने व्यक्तिले अनावश्यक बोझ बोकेर पनि त्यसलाई टुङ्गोमा पुर्‍याउन नसक्दा राम्रो गरिरहे पनि नराम्रो हुने प्रवृत्ति बढेको छ।

"हुँदैन भन्ने मान्छे गलत नभएर नहुने कामलाई हुँदैन भन्ने मान्छे ठीक हो भन्ने संस्कृति विकास गरिनुपर्छ," उनले जोड दिए।

मन्त्री पाण्डेले भने, "विदेशीहरू भन्छन् हामी हिमाल हेर्न आएका हौँ खासमा। हिमाल त नेपालमा हाँसेको छ नै तर नेपालीको हाँसो चाहिँ त्यो हिमालभन्दा पनि सुन्दर छ भनेर प्रशंसा गर्छन्। त्यसकारण हामीसँग सबै कुरा छ, यी भएका कुरालाई पस्किनका लागि आवश्यक समन्वयको जरुरी छ।"

उनले तीन तहका सरकारबीच आपसमा समन्वयको अभाव रहेको औंल्याए। "यो भर्टिकल्ली पनि समन्वय छैन, होरिजेन्टल्ली पनि समन्वय राम्रो छैन," उनले भने। नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रतिष्ठान, ललितकला प्रतिष्ठान, नाचघर र संस्कृति मन्त्रालय आफैँ भए पनि समन्वय गरेर भएका कुरालाई व्यवस्थित गर्न नसकिएको उनले स्वीकार गरे।

मन्त्री पाण्डेले योजना निर्माणका बेला नहुने योजनालाई पनि 'हुन्छ' भनिदिने प्रवृत्तिले समस्या ल्याएको बताए। उनले भने, "योजना बनाउने होइन रहेछ हामीकहाँ, योजना माग्ने रहेछ। खासमा योजना त बनाउनुपर्ने हो। योजना बनाउने काममा हामी चुक्दा रहेछौँ तर योजना माग्ने काममा चाहिँ हामी यसरी भागदौड र प्रतिस्पर्धा गर्दा रहेछौँ कि यो हुन्छ र यो हुन्न भन्ने संस्कार अर्थात् यो हुँदैन भन्ने अभियान सञ्चालन गर्नु जरुरी छ।"

उनले सहजै 'हुन्छ' भनिदिँदा त्यसको दुःखद अन्त्य हुने बताए। तीन तहको सरकारबीच समन्वय हुन नसक्दा नेपालमा भएका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू विश्वसामु परिचित गराउन नसकिएकोले समन्वय र सहकार्यमा जोड दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ