संक्रमित देशबाट आएका नेपालीमा मंकिपक्सको लक्षण देखियो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
593
Shares
काठमाडौं। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मंकिपक्स संक्रमण देखिएका देशहरूबाट नेपाल फर्किएका केही नेपालीहरूमा एमपक्सका मिल्दोजुल्दो लक्षणहरू देखिएको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मध्यपूर्वी देशहरूमा सबैभन्दा धेरै नेपाली रहेको र दैनिक हजारौँ मानिस आवतजावत गर्ने भएकाले एमपक्सको जोखिम उच्च रहेको उल्लेख गरे।
डा. पुनले एमपक्स पुष्टि भएका बिरामीहरू काम गर्ने ठाउँमा करिब ८० प्रतिशत नेपाली नै रहेको जानकारी दिए। उनले संक्रमण देखिएका देशहरूबाट आएपछि केही दिन परिवारसँग अलग बस्न र एमपक्सका लक्षणहरू देखिएमा विशेषज्ञसँग परामर्श लिन अनुरोध गरे।
उनले भने, "यदि संक्रमण देखिइरहेको देशहरूबाट आउनुभएको छ भने यहाँ आइसकेपछि सकेसम्म अलिकति अलग बस्दा राम्रो।" यदि शरीरमा आलस्यता, खान मन नलाग्ने र ज्वरो आएको खण्डमा एमपक्सको सम्भावना हुन सक्ने भन्दै परिवारका सदस्यहरूलाई जोखिममा पर्नबाट जोगाउन स्वयं सावधानी अपनाउन आग्रह गरे।
डा. पुनले पछिल्लो समय कोभिड फेरि सक्रिय भएको र यो त्यति राम्रो नभएको बताए। उनले प्यान्डामिक सकियो भनिरहे पनि कोभिड अझै पनि हामीहरूसँगै रहेको र यो नहराएको स्पष्ट पारे। तथ्यांकलाई आधार मान्ने हो भने बेलाबेलामा सानोतिनो संक्रमण देखिने गरेको उनको भनाइ थियो।
यस सन्दर्भमा, विदेशबाट आउने नेपालीहरूले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन आवश्यक देखिन्छ।