तुलसीपुर (दाङ)। दाङको शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेटमार्फत पालिकावासीको न्यूनतम विद्युत् महसुल तिरिदिने घोषणा गरेको छ। यो लुम्बिनी प्रदेशकै एउटा नयाँ कार्यक्रम रहेको बताइएको छ।
गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार, पालिकावासीको मागका आधारमा यो नीति ल्याइएको हो। पालिकाले प्रत्येक घरधुरीको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गर्नेछ। 'शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर' भन्ने अभियानस्वरूप यो नीति ल्याइएको उनले बताए। यसले सबै नागरिकको ऊर्जामा पहुँच पुग्ने अपेक्षा गरिएको छ।
बजेटमा अन्य प्रोत्साहनका कार्यक्रमहरू पनि समावेश गरिएका छन्। पालिकाभित्र चिकित्साशास्त्र, चिकित्सक, र पाइलट अध्ययन गर्ने विद्यार्थीहरूलाई निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइनेछ। यस्तै, खेलकुद क्षेत्रमा युवाहरूको आकर्षण बढाउन राष्ट्रिय स्तरमा छनोट हुने खेलाडीहरूलाई पनि प्रोत्साहन रकम उपलब्ध गराइने बजेटमा उल्लेख छ।