माधव नेपाल थुनामा बस्न नपर्ने, ३५ लाख तिरे पुग्ने [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
796
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई थुनामा बस्न नपर्ने भएको छ । विशेष अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि नेपालका तर्फबाट बहस गरेका पाँच जना वकिलहरुले बिना सर्त रिहाइको माग गरेका थिए । नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उनलाई बिना शर्त रिहाइ गर्न माग गरेका थिए ।
सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए । उनीहरुले यति ठूलो भ्रष्टाचार मुद्दामा थुनामा रहेरै मुद्दा चलाउन माग गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्रीपरिषदले पतञ्जलि योगपिठलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्नका लागि दिएको स्वीकृति नीतिगत निर्णय मान्न नसकिने जिकिर गरे ।
यसलाई उनले नीतिगत निर्णय नभएर व्यक्तिगत स्वार्थप्रेरित निर्णय भएको बताउँदै राज्यलाई ठूलो हानि पुर्याउने गरी संगीन काम गरेको हुँदा उनलाई थुनामा राखेर मुद्दा अगाडि बढाउन माग गरेका थिए ।