इङ्गल्याण्डविरुद्ध भारत बलियो स्थितिमा, बर्मिङघममा इतिहास रच्ने बाटोमा
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
555
Shares
काठमाडौँ । भारत र इङ्गल्याण्डबीचको दोस्रो टेष्ट क्रिकेट बर्मिङघममा भइरहेको छ । खेलमा भारत बलियो स्थितिमा पुगेको छ ।
पहिलो इनिङ्समा १८० रनको आग्रता बनाएको भारतले दोस्रो इनिङ्समा तेस्रो दिनको समाप्तिसम्म १ विकेटको क्षतिमा ६४ रन जोडिसकेको छ । भारत २४४ रनले अगाडि छ । भारतका केएल राहुल २८ तथा करुण नैर ७ रनबाट आज चौथो दिनको खेल अगाडि बढाउने छन् ।
यसअघि भारतले पहिलो इनिङ्समा कप्तान शुबमन गिलको २६९ रनको मद्धतले ५८७ रन बनाएको थियो । शुबमन कप्तान भएपछि लगातार दुई खेलमा दुई शतक बनाएका छन् । त्यस्तै इङ्गल्याण्डमा सबैभन्दा ठूलो स्कोर बनाउने कीर्तिमान पनि लेखाएका छन् ।
जवाफमा पहिलो इनिङ्समा इङ्गल्याण्डले ४०७ रन बनाउन सक्यो । छैटौँ विकेटका लागि जमाइ स्मिथ र ह्यारि ब्रुबबीच कीर्तिमानी ३०३ रनको साझेदारी हुँदा भारत अताल्लिएको थियो । तर पछिल्ला ५ विकेट थप २० रन जोड्ने क्रममा ढलेसँगै भारतलाई राहत मिलेको हो ।
स्मिथले अविजित रहँदै १८४ रन बनाए भने ब्रुकले १५८ रन जोडे । मोहम्मद सिराजले ७० रन खर्चेर ६ तथा आकाश दीपले ८८ रन खर्चेर ४ विकेट लिए ।
पहिलो खेल इङ्गल्याण्डले जितेको थियो । बर्मिङघममा भारत अहिलेसम्म विजयी नभएकाले यसपालि राम्रो अवसर रहेको छ ।