ईयूको ५० करोड युरो जरिवाना विरुद्ध एप्पलद्वारा अपिल दायर
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
1.5k
Shares
काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले लगाएको ५० करोड युरो जरिवाना विरुद्ध एप्पलले सोमबार अपिल दायर गरेको छ। ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनी एप्पललाई प्रयोगकर्ताका लागि ’खराब’ परिवर्तन गर्न बाध्य पारेको आरोप लगाएको छ।
युरोपेली आयोगले गत अप्रिलमा एप्पललाई आफ्नो एप स्टोरबाहिर ग्राहकलाई ’स्टीयरिङ’ गर्नबाट रोकेको भन्दै यो जरिवाना लगाएको थियो।
एप्पलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "युरोपेली आयोगको निर्णय र अकल्पनीय जरिवाना कानूनी दायराभन्दा धेरै टाढा छ। आज हामीले हाम्रो अपील दायर गरेका छौं।" विज्ञप्तिमा अगाडि भनिएको छ, "हाम्रो अपीलले देखाउँछ कि आयोगले हामीमाथि कसरी व्यावसायिक सर्तहरू मान्न बाध्य पार्दैछ जुन विकासकर्ताहरूका लागि भ्रामक र प्रयोगकर्ताहरूका लागि खराब छ भन्ने कुरा पुष्टि गर्नेछ। हामीले दैनिक जरिवानाबाट बच्नका लागि आयोगका सर्त मानेका छौँ। परेको बेला ईयू अदालतसँग तथ्यहरू साझा गर्नेछौं।"
एप्पलले नयाँ दैनिक जरिवानाबाट बच्न सकियोस् भनी गत महिना युरोपमा आफ्नो एप स्टोर भुक्तानी नियमहरूमा परिवर्तनको घोषणा गरेको थियो। परिवर्तित एप स्टोर भुक्तानी नियमहरूमा विकासकर्ताहरूलाई उनीहरूको अनुप्रयोगभित्र उपभोक्ताहरूलाई सीधै विभिन्न भुक्तानी विकल्पहरू प्रस्ताव गर्न अनुमति दिनसक्ने पनि उल्लेख छ। आयोगले अहिले ती परिवर्तनको मूल्याङ्कन गरिरहेको छ।