सिराहा। चालु आर्थिक वर्ष २०८१/८२ मा सिराहामा प्रदेश सरकार मातहत रहेका १९ वटा कार्यालयले कुल विनियोजित बजेटमध्ये ७५ दशमलव एक प्रतिशत खर्च गरेका छन् ।
प्रदेश लेखा एकाइ कार्यालय लहान, सिराहाका अनुसार चालु आवमा रु तीन अर्ब ८० करोड ९७ लाख ३५ हजार ४६६ विनियोजन गरिएकामा रु दुई अर्ब ८६ करोड सात लाख ९२ हजार ४१६ मात्र खर्च भएको हो ।
एकाइ प्रमुख परमानन्द मण्डलले चालु खर्चतर्फ रु एक अर्ब १० करोड र पुँजीगत खर्चतर्फ रु एक अर्ब ७६ करोड खर्च गरिएको बताए ।
प्राप्त जानकारीअनुसार यहाँको पूर्वाधार विकास कार्यालयले रु ८६ करोडमध्ये रु ६८ करोड र प्रादेशिक अस्पताल सिरहाले रु २० करोडमध्ये रु ११ करोड पुँजीगत खर्च गरेको छ ।
यस्तै, प्रादेशिक आयुर्वेद कार्यालयले रु ३२ लाखमध्ये रु एक लाख ९९ हजार, यातायात व्यवस्था कार्यालयले रु ९० लाखमध्ये रु ७३ लाख, स्वास्थ्य कार्यालयले रु २० करोडमध्ये रु ११ करोड, प्रादेशिक अस्पताल लहानले रु २१ करोडमध्ये रु ११ करोड, लहान प्राविधिक शिक्षालयले रु एक करोडमध्ये रु सात लाख ६८ हजार मात्र खर्च गरेका छन् ।
अन्य निकायमध्ये भू-जलाधार कार्यालयले रु १९ करोडमध्ये रु १७ करोड, डिभिजन वन कार्यालयले रु १० करोडमध्ये आठ करोड, भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले रु १९ करोडमध्ये रु १४ करोड, जलस्रोत तथा सिँचाइ कार्यालयले रु २१ करोडमध्ये रु १४ करोड, माछा विकास केन्द्रले रु एक करोडमध्ये रु ६१ लाख, भेटेरिनरी अस्पतालले रु एक करोडमध्ये रु ६२ लाख, बाली संरक्षण प्रयोगशालाले रु एक करोडमध्ये रु ६७ लाख, घरेलु तथा साना उद्योग कार्यालयले रु २४ लाखमध्ये रु १४ लाख र पर्यटन विकास कार्यालयले रु ४९ करोडमध्ये रु ३४ करोड खर्च गरेका छन् ।
योजनाहरू स्वीकृत गर्न ढिलाइ, ठेक्का प्रक्रिया र कार्यान्वयनमा जटिलताजस्ता कारणले बजेट खर्चमा समस्या भएको एकाइ प्रमुख मण्डलको भनाइ छ ।
“सबैभन्दा बढी बजेट पाउने पर्यटन र पूर्वाधार कार्यालयले योजना कार्यान्वयनमा ढिलाइ गरेका कारण विनियोजित रकम पूर्ण खर्च हुन सकेन । यसले प्रदेश सरकारको खर्च क्षमता र परिणाममा समेत असर परेको छ”, उनले भने । रासस