arrow

अध्यागमनमा खटाइए ४५ नयाँ शाखा अधिकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
tia-new-81-6-11.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा ४५ जना नयाँ शाखा अधिकृतहरूलाई खटाएको छ।  गृह मन्त्रालयले अध्यागमन सेवा सुधारको लागि सोमबार देखि अध्यागमन कार्यालयमा अधिकृतहरूलाई खटाएको हो। लोकसेवा आयोगबाट उत्तीर्ण भई आएका यी अधिकृतहरूलाई अध्यागमन विभागले तीनदिने तालिमपश्चात् विमानस्थलमा परिचालन गरेको हो।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिएअनुसार, अध्यागमन कार्यालयको प्रमुखका रूपमा सहसचिव नरहरि घिमिरेले पनि आजदेखि आफ्नो कार्यभार सम्हालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रवक्तासमेत रहेका घिमिरेको आगमनले अध्यागमनको प्रशासनिक नेतृत्व थप बलियो हुने अपेक्षा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना अधिकृतको नाम गृह मन्त्रालयमा पठाएपछि यो पदस्थापन भएको हो। यसअघि विमानस्थलमा रहेका सोही सङ्ख्याका शाखा अधिकृतहरूलाई भने गृह मन्त्रालयमा तानिएको छ। गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले विमानस्थलबाट आएका अधिकृतहरूको मन्त्रालयमा दरबन्दी मिलान गरिने र दरबन्दीभन्दा बढी भएमा सामान्य प्रशासन मन्त्रालयमार्फत अन्यत्र पठाइने बताए।

सरकारले अध्यागमन र भिजिट भिसासम्बन्धमा देखिएका समस्या समाधान गर्न पूर्वमुख्य सचिव शङ्करदास बैरागीको संयोजकत्वमा उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ। उक्त समितिलाई विदेश जाने र आउने व्यक्तिको यात्रा सहजीकरण, नीतिगत, कानुनी, र संरचनागत सुधारका लागि तत्कालीन तथा दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्ने कार्यादेश दिइएको छ। समितिले अहिले कार्यादेशअनुसार काम गरिरहेको छ।

नयाँ कर्मचारीको पदस्थापन र उच्चस्तरीय समितिको गठनले नेपालको अध्यागमन सेवालाई अझ प्रभावकारी र पारदर्शी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ