सहकारी पीडितको बचत फिर्ता र दोषीलाई कारबाहीको माग गर्दै मोटरसाइकल र्याली [भिडियो]
१६ सहकारीको सूची प्राधिकरणमा बुझाइयो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
520
Shares
काठमाडौँ । सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले सहकारी पीडितको बचत रकम फिर्ता गर्न र दोषीलाई कारबाहीको माग गर्दै मंगलबार काठमाडौंमा मोटरसाइकल र्याली गरेको छ। महासंघले १६ वटा समस्याग्रस्त सहकारीहरूको सूची सहकारी नियमन प्राधिकरणमा बुझाएको छ।
महासंघका कोषाध्यक्ष देव श्रेष्ठले सहकारी पीडितलाई न्याय दिन ३० महिनाभन्दा बढी समयदेखि आन्दोलन जारी राखे पनि राज्यले सुनुवाइ नगरेको गुनासो गरे। शासकहरू सहकारी पीडितको माग सम्बोधन गर्न तयार नरहेको भन्दै उनले राज्यले आफूहरूको शक्तिलाई नपत्याएकाले अब बचतकर्ताको रकम मागेर नभई खोसेर लिनुपर्ने अवस्था आएको चेतावनी दिए।
श्रेष्ठले भने, "सहकारी पीडितलाई न्याय देउ भनेर हामी हिँडेको ३० महिनाभन्दा बढी भइसक्यो। तर पनि राज्यका शासकहरूले हाम्रो मागको सुनुवाइ गरेन। हाम्रो अधिकार हामीले मागेर पाउँथ्यौँ भने आजसम्म राज्यले दिसक्थ्यो। तर राज्यले हाम्रो शक्तिलाई पत्याएन। त्यसकारण अब हाम्रो हक र अधिकार हामी मागेर होइन खोसेर लिनुपर्छ भनेर आज १६ वटा समस्याग्रस्त सहकारीहरूलाई प्राधिकरणमा लाँदैछौँ। त्यसपछि हामी कर्जा असुलिकरणमा हामी जान्छौँ। छिटोभन्दा छिटो महासंघमा आवद्ध भएका सहकारीहरूलाई समस्याग्रस्त सहकारीको रुपमा लिएर त्यसको सुधार गरेन भने शक्ति प्रदर्शन हुने सन्देश दिन चाहन्छु।"
अभियानले समस्याग्रस्त सहकारीका सञ्चालकहरूमाथि कारबाही र पीडितलाई रकम फिर्ता गराउन माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ। सहकारीहरूको नियमन र बचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनका लागि सरकारले ललितपुरको पुलचोकमा प्राधिकरण स्थापना गरेको छ।