भारत- इङ्गल्याण्डबीचको चौथो टेष्टमा इङ्गल्याण्डको बलियो शुरुवात
भारतले थप ९४ रन जोडनमै छ विकेट गुमाएर ३५८ मा अलआउट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
487
Shares
तस्बिर फाइल
काठमाडौँ । भारत- इङ्गल्याण्डबीचको चौथो टेष्टमा इङ्गल्याण्डको बलियो शुरुवात गरेको छ । म्यानचेस्टरमा जारी भारत र इङ्गल्याण्डबीचको एन्डर्सन-तेन्दुलकर ट्रफीको चौथो टेष्टको दोस्रो दिन भारतले आफ्नो पहिलो इनिङमा ३५८ रनमा अलआउट भएपछि इङ्गल्याण्डका ओपनरहरूले सशक्त जवाफ दिएका छन्। ज्याक क्रलीको ८४ र बेन डकेटको ९४ रनको योगदानमा इङ्गल्याण्डले उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो शुरुवात गरेको छ। तेस्रो दिनको खेल आज दिउँसो ३:४५ बजे (नेपाली समय) बाट सुरु हुनेछ।
दोस्रो दिन २६४/४ को स्थितिबाट ब्याटिङ सुरु गरेको भारतले थप ९४ रन जोड्नमै आफ्ना अन्तिम ६ विकेट गुमायो। घाइते भए पनि ब्याटिङमा उत्रिएका ऋषभ पन्तले ५४ रन को महत्त्वपूर्ण योगदान दिए। शार्दूल ठाकुरले ४१, वाशिंगटन सुन्दरले २७ र रवीन्द्र जडेजाले २० रन जोड्दै भारतको स्कोर ३५८ सम्म पुर्याएका थिए।
इङ्गल्याण्डका कप्तान बेन स्टोक्सले ५ विकेट लिँदै भारतको ब्याटिङ क्रमलाई ध्वस्त पारे। जोफ्रा आर्चरले ३ विकेट लिए, जसमा उनले दोस्रो दिन जडेजा, जसप्रीत बुमराह र पन्तलाई पेभिलियन फर्काए। क्रिस वोक्स र लियम डसनले १-१ विकेट हात पारे।
दोस्रो दिनको दोस्रो सत्रमा इनिङ्स सुरु गरेको इङ्गल्याण्डका ओपनर बेन डकेट र ज्याक क्रलीले उत्कृष्ट प्रदर्शन गरे। उनीहरूले दोस्रो सत्रसम्म ७७ रन जोडेका थिए। तेस्रो सत्रमा दुवैले आ-आफ्नो अर्धशतक पूरा गरे। क्रली ८४ रनमा आउट भएपछि डकेटसँगको १६६ रनको प्रभावशाली साझेदारी टुङ्गियो। बेन डकेट पनि ९४ रनमा पेभिलियन फर्किए। दिनको समाप्तिसम्म जो रुट ११ र ओली पोप २० रनमा अविजित रहेका छन्। इङ्गल्याण्डले हालसम्म २२५ रन बनाएको छ र भारतको स्कोरभन्दा १३३ रनले पछाडि छ।