arrow

भीमसेन थापाको जन्मजयन्ती

जनताको आवाज सुन्ने र समृद्ध नेपाल निर्माण गर्ने नै गणतन्त्रको ध्येय: राष्ट्रपति पौडेल

भीमसेन थापाको योगदानको स्मरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
ramchandra-23.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल ध्येय नै जनताको आवाज सुन्ने, उनीहरूको चाहना पूरा गर्ने र सुशासनमार्फत आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन्।

राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जन्मजयन्तीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यही शासन प्रणालीबाट नै पूर्खा र इतिहासले सुम्पेको दायित्व पूरा गर्न सकिने बताए।

"इतिहासका अनेकौँ कालखण्डबाट गुज्रँदै हाम्रो देश अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अङ्गालेर अघि बढ्दैछ," राष्ट्रपति पौडेलले भने, "वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो। यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौँ। हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु।"

राष्ट्रपति पौडेलले षड्यन्त्रै षड्यन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने सोचसहित आफूले लेख लेखेको स्मरण गर्दै वर्तमानमा निराशा हुन आवश्यक नरहेको बताए। उनले वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भन्दै वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै अहिले हामी यहाँसम्म आइपुगेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाका खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको बताए। उनले दक्षिण एसियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्यवादी शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको स्मरण गराए।

"भीमसेन थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै नेपाल स्वतन्त्र र अटल रूपमा रहन सकेको हो," राष्ट्रपतिले भने, "आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासका लागि गर्नुभएको योगदान सदैव सराहनीय छ। त्यसैले नेपालको इतिहासमा भीमसेन थापाको स्थान उच्च रहेको स्पष्ट हुन्छ।"

सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको भीमसेन थापा पुरस्कार वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई प्रदान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ