परराष्ट्र सचिवको अख्तियारलाई आग्रह: 'बेरुजु शून्य कसरी गर्ने, सिकाउनुस्!'
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
2.3k
Shares
काठमाडौं। परराष्ट्र सचिव अमृतबहादुर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई आफूलाई बेरुजु शून्य कसरी गर्ने भनेर सिकाइदिन आग्रह गरेका छन्। अख्तियारको बेरुजु शून्य रहेको सुनेपछि सोमबार सार्वजनिक लेखा समितिको बैठकमा राईले यस्तो बताएका हुन्।
उनले यदि काम गरेरै अख्तियारको बेरुजु शून्य भएको हो भने आफ्ना दुई-चार जना कर्मचारीलाई सिक्न पठाउने बताए। "अख्तियारका सचिवज्यूले बेरुजु शून्य भनेको सुनेँ। आखिर बेरुजु शून्य कसरी गर्न सकिने रहेछ? काम गरेरै बेरुजु शून्य भएको हो भने मेरा पनि दुई-चार भाई कर्मचारीलाई त्यहाँ सिक्न पठाउँछु। तपाईंले सिकाएर पठाउनुस्। बेरुजु शून्य बनाउन हामी सबैले," सचिव राईले भने, "यदि त्यहाँ सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरुजु शून्य भएको हो भने त्यो छुट्टै कुरा हो। यदि काम भएरै शून्य भएको भने एकअर्कामा सिकाऔं न।"
आजको लेखा समिति बैठकमा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आफ्नो कार्यालयको बेरुजु शून्य रहेको जानकारी गराएका थिए। उनले बेरुजु हुनु भनेको भ्रष्टाचारको संकेतसमेत बताएका थिए।
परराष्ट्र सचिव राईले विदेशस्थित नियोगहरू सञ्चालन गर्दा कहिलेकाहीँ कानुन र नियमहरू पालना गर्न गाह्रो हुँदा बेरुजु रहने गरेको बताए। उनका अनुसार, अप्ठ्यारा ऐन-नियमहरूका कारण बेरुजु प्रत्येक वर्ष बढेको हो। उनले ऐनहरूलाई सहज बनाउनुपर्नेमा जोड दिए।
अहिले परराष्ट्र मन्त्रालयको बेरुजु साढे ५ अर्ब रहेको छ। विदेशस्थित नियोगमा राजश्वहरू जम्मा गर्दा समयमै नदेखाइँदा पनि बेरुजु देखिने गरेको राईले बताए। परराष्ट्र मन्त्रालयको बेरुजु न्यूनीकरण गर्दै जाने योजना रहेको पनि उनले जानकारी दिए।