नागपञ्चमीमा रामपुरका विद्यार्थीले बेचे नागका चित्र
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
716
Shares
रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीहरूले अष्टनाग अंकित चित्रहरू तयार पारेर बिक्री गरेका छन्। आज नागपञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीहरूले नागको चित्र बनाएर विद्यालय तथा घरघरमा बिक्री गरेका हुन्।
कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरू आफैँले बनाएका करिब सात सयभन्दा बढी नागका चित्र बिक्री भएको प्रधानाध्यापक विजय शर्माले जानकारी दिए।
"हामीले सैद्धान्तिक ज्ञानलाई मात्र नभई व्यावहारिक ज्ञान, संस्कारसहितको शिक्षा दिएका छौँ," उनले भने, "आफूले तयार पार्न सक्ने कुरामा फजुल खर्च गर्नु हुँदैन, मौलिक संस्कृतिमा जोड दिनुपर्छ, पर्वअनुसार प्रयोगमा आउने विभिन्न ज्ञान, सीप विद्यार्थीलाई दिइरहेका छौँ।"
विद्यार्थीहरूले तयार पारेको चित्र अभिभावक, शिक्षक तथा स्थानीयवासीले मन पराएर खरिद गरिरहेका छन्। प्रतितस्बिर १० रुपैयाँमा बिक्री गरेको कक्षा ८ मा अध्ययनरत छात्र भाष्कर विनायक गौतमले बताए। "बाहिरबाट आयातित तस्बिरलाई निरुत्साहित गर्न हामीले अष्टनागको चित्र बनाएका हौँ, छिमेकीले राम्रो मानेर किनिदिनुभयो," उनले भने। यसबाट जम्मा भएको रकम अहिले बचत गरेर राखिएको र शैक्षिक क्षेत्रमा नै खर्च गर्ने सोच रहेको गौतमले बताए।
यो कार्यले विद्यार्थीहरूमा आफ्नो संस्कृति संरक्षण र आम्दानी गर्ने माध्यम समेत बनेको छ। यहाँका विद्यार्थीहरूले घरायसी प्रयोगमा आउने डोको, नाम्लो, ढकियाजस्ता सीप पनि सिकेका छन् भने घरघरमा करेसाबारी बनाएर तरकारी लगाउने काम पनि गरिरहेका छन्।