रुसी नेताको भनाइपछि ट्रम्पले गरे आणविक पनडुब्बी तैनाथ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
1.3k
Shares
काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवको उत्तेजक टिप्पणीका कारण दुईवटा आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्। ट्रम्पले शुक्रबार मेदभेदेवको भनाइलाई 'मूर्खतापूर्ण र भड्काउ' भन्दै यो कदमका लागि उनी जिम्मेवार रहेको बताए।
कुनै समय उदारवादी नेताका रूपमा हेरिने मेदभेदेव युक्रेनमाथि रुसले आक्रमण गरेपछि कट्टरपन्थी पश्चिमाविरोधी बनेका छन्। सन् २००८ देखि २०१२ सम्म राष्ट्रपति रहेका मेदभेदेव पुटिनलाई सत्ता हस्तान्तरण गरेपछि ओझेलमा परेका थिए। सन् २०२० मा रुसको सुरक्षा परिषद्को उपप्रमुख बनेपछि र युक्रेन युद्ध सुरु भएपछि भने उनी सामाजिक सञ्जालमा पश्चिमाहरूलाई 'हरामी र पतित' जस्ता शब्द प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।
उनले रुसका शत्रुविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावना रहेको भन्दै युरोपलाई तर्साउने काम पनि गरेका छन्। गत जुनमा अमेरिकाले इरानको आणविक केन्द्रमा हवाई आक्रमण गरेपछि मेदभेदेवले तेहरानलाई आणविक हतियार उपलब्ध गराउन 'धेरै देश' इच्छुक रहेको बताएका थिए।
मेदभेदेवले बिहीबार टेलिग्राममा एउटा पोस्ट गर्दै अमेरिकाको आणविक हतियार नियन्त्रण प्रणालीलाई सङ्केत गर्दै ट्रम्पको आलोचना गरेका थिए। मेदभेदेवका आलोचकहरूले यसलाई रुसी राजनीतिक वृत्तमा आफ्नो सान्दर्भिकता कायम राख्ने प्रयासको रूपमा लिएका थिए। तर, ट्रम्पले यस धम्कीलाई गम्भीरतापूर्वक लिँदै आणविक पनडुब्बी तैनाथ गर्ने निर्णय गरे।