arrow

सुनकोशी मरिन डाइभर्सनमा ढिलाइप्रति मधेस सरकारको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
marin.jpg

महोत्तरी। मधेस प्रदेशका लागि सिँचाइ र खानेपानीको दिगो समाधानका रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणमा भइरहेको ढिलाइप्रति प्रदेश सरकारले चासो देखाएको छ। मुख्यमन्त्री सतिश सिंहसहितको एक टोलीले शनिवार आयोजनास्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्याबारे जानकारी लिएको छ।

निरीक्षणका क्रममा आयोजना प्रमुख अच्युतराज गौतमले हालसम्मको प्रगति विवरण पेश गर्दै मुख्यमन्त्रीलाई ढिलाइको कारणबारे जानकारी दिएका थिए। मुख्यमन्त्री सिंहले मधेस प्रदेश अहिले पानीको अभावले सुख्खाग्रस्त बनेको अवस्थामा आयोजनामा ढिलाइ हुनु दुःखद् भएको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।

टोलीमा सहभागी ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आयोजना मधेसका लाखौं किसानको भविष्यसँग जोडिएको भएकाले यसको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण कम्पनीलाई चेतावनी दिए।

निरीक्षण टोलीका अनुसार, सुरुङ निर्माणको काम चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुपले समयमै सम्पन्न गरे पनि ठेक्का पाएको पटेल रमण जेभी कन्सट्रक्सनका कारणले ढिलाइ भइरहेको छ। कम्पनीले ठेक्का सम्झौताको आधा समय बितिसक्दा पनि जम्मा १० प्रतिशत मात्र काम पूरा गरेको पाइएको छ। कम्पनीले भने निरन्तरको वर्षा, माटोको समस्या, र स्थानीय समुदायका मागहरू तथा राजनीतिक कारणले ढिलाइ भएको बताएको छ।

करिब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाका लागि हालसम्म १९ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ उपलब्ध भएकोमा १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ। तर, खर्चको अनुपातमा कार्य प्रगति भने मात्र ३६.८३% रहेको जानकारी गराइएको छ।

मुख्यमन्त्रीले आयोजनाको निरीक्षण गरी निर्माणमा तीव्रता दिन निर्देशन दिएकाले अब यसको कामले गति लिने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ