काठमाडौँ । इजरायली सेनाले आइतबार सिरियाको दक्षिणी क्षेत्रमा स्थलगत हमला गरेको छ। सेनाले गोलान हाइट्स नजिकैको ‘हादेर’ भन्ने स्थानमा एकैपटक चारवटा ठाउँमा कारबाही गरेको जनाएको छ। यस कारबाहीका क्रममा ठूलो मात्रामा हतियार बरामद भएको छ भने हतियार तस्करीमा संलग्न भएको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ।
सेनाले सार्वजनिक गरेको भिडियोमा इजरायली सैनिकहरू बख्तरबन्द गाडी र पैदल रातको समयमा सिरियाभित्र कारबाही गरिरहेको देखिन्छ। सेनाका अनुसार, यो कारबाहीको मुख्य उद्देश्य आतंकवादी समूहहरूलाई सीमावर्ती क्षेत्रमा बस्न नदिई गोलान हाइट्सका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु हो।
सन् २०२४ को अन्त्यमा सिरियाका राष्ट्रपति बशर अल-असदको सत्ता समाप्त भएदेखि इजरायलले सिरियामा बारम्बार आक्रमण गर्दै आएको छ। इजरायलले नयाँ सरकारलाई कट्टरपन्थी (जिहादी) समूह मान्दै उनीहरूलाई हतियार प्राप्त हुन नदिनका लागि हमला गर्दै आएको दाबी गरेको छ।