सञ्चारमाध्यमको दर्ता जिल्ला प्रशासनमा हुँदैमा लोकतन्त्र खोसिँदैन – मन्त्री गुरुङ
खुरुक्क त्यहीँ गएर दर्ता गर्ने के बिग्रिन्छ? कानुन सबैले मान्नुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
490
Shares
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्थाले लोकतन्त्र खोसियो भन्ने भ्रम नफैलाउन सचेत गराएका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले अहिलेको कानुनअनुसार सञ्चारमाध्यमको दर्ता प्रेस काउन्सिलबाट नभई जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था गरिएको स्पष्ट पारे। उनले कानुन बनाउने काम सरकारको भएको र कानुनले जहाँ दर्ता गर्न भनेको छ, त्यहीँ गएर दर्ता गर्नुपर्ने बताए।
"प्रेस काउन्सिलले दिँदै आएको अनलाइन दर्तासम्बन्धी काम सिडिओ कार्यालयबाट गर्ने भएको छ। कानूनले सिडिओ कार्यालयअन्तर्गत भनेपछि प्रेस काउन्सिलबाट हुने भएन। भएको त्यतिमात्रै हो," उनले भने, "एक ठाउँको दर्ता अर्को ठाउँमा जानेबित्तिकै लोकतन्त्र खोसियो भन्ने अर्थ नलगाउनुस्। अहिलेको ऐनअनुसार त्यही व्यवस्था भएको छ, खुरुक्क त्यहीँ गएर दर्ता गर्ने के बिग्रिन्छ? कानुन सबैले मान्नुपर्छ।"
उनले केही नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयको रहेको पनि स्पष्ट पारे।