भारतीय वायुसेना प्रमुख भन्छन् – अपरेशन सिन्दूरमा पाँच पाकिस्तानी लडाकु विमान र एउटा निगरानी विमान खसालियो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
1.7k
Shares
बेङ्गलुरू । भारतीय वायुसेना प्रमुख एपी सिंहले अपरेशन सिन्दूरका क्रममा पाँच ओटा पाकिस्तानी लडाकु विमान खसालिएको बताएका छन् । बेङ्गलुरूमा शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सिंहले यस बाहेक लगभग ३०० किलोमिटरको दूरीबाट एक निगरानी विमान खसालिएको बताए । यो अहिलेसम्मको सतहबाट हावामा लक्ष्य प्रहारको रेकर्ड भएकोसमेत दाबी गरेका छन् ।
बेङ्गलुरूको एचएएल व्यवस्थापन एकेडेमी अडिटोरियममा एयर चीफ मार्शल एलएम कत्रे मेमोरियल लेक्चरको १६ औं सत्रलाई सम्बोधन गर्दै थिए ।
यस क्रममा उनले भने, ‘अपरेशन सिन्दूरको क्रममा, हाम्रो वायु रक्षा प्रणालीले उत्कृष्ट काम गर्यो, पाकिस्तानले हाम्रो वायु रक्षा प्रणालीलाई छिर्न सकेन ।’
वायुसेना प्रमुखले थप भने, ‘पाकिस्तानको बहावलपुरमा भएको आक्रमण अघि र पछिका तस्बिरहरू सबैको अगाडि छन् । त्यहाँ केही पनि बाँकी थिएन। यी तस्बिरहरू केवल उपग्रहबाट मात्र लिइएका थिएनन् । तर स्थानीय मिडियाले ध्वस्त भवनको भित्री तस्बिरहरू पनि देखाए।’
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानी लडाकु विमान खसालेको भारतको दाबीलाई झुटो भनेका छन् । उनले भारतले न त एउटा पनि पाकिस्तानी विमान नखसालेको दाबी गरेका छन् ।