सरकारलाई नागरिकता दुरुपयोग रोक्न र नागरिकताविहीन अवस्था टार्न सचेत
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
1.9k
Shares
काठमाडौँ । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गरेकी छिन् ।
राष्ट्रिय सभाको सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।
उनले लामो समयदेखि गैरआवासीय नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपाली नागरिकमा निराशा र आक्रोश रहेको बताइन् । वंशजको नागरिकतालाई स्पष्ट पार्नुका साथै विदेशमा रहेका नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने प्रावधान संविधानको मर्म र भावनाअनुसार व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘वंशजको नागरिकतालाई स्पष्ट पार्दै विदेशमा रहेका नागरिकले गैरआवासीय नेपाली नागरिकता पाउने विषयमा संविधानको मर्म र भावनाअनुसार नयाँ विधेयक बनाएर व्यवस्था गर्ने या विधेयकले नै संशोधन गर्ने भन्ने विषयमा यो समिति स्पष्ट हुनुपर्छ । लामो समयदेखि यो विषयमा अस्पष्टता हुँदा एक किसिमको अन्यौलता र प्रवासी नेपालीका बीचमा निराशा र आक्रोश रहेको पाइन्छ । त्यसकारण यस विषयमा छिटो निष्कर्षमा पुग्न आवश्यक छ । नागरिकता दुरुपयोग रोक्न तथा नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्थामा समेत सचेत रहनुपर्ने अवस्था छ ।’
उनले नागरिकता दुरुपयोग रोक्ने र कुनैपनि नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहनुपर्नेमा जोड दिइन् ।