काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई छुट्टाछुट्टै कारबाहीमा घुससहित दुई सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई आयोगले घुससहित पक्राउ गरेको हो।
भारतबाट भन्सार छलेर अवैध रूपमा कपडा र किराना सामान ल्याउने कार्यमा सहयोग गरिदिएबापत सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो।
यसैगरी, आयोगले नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई पनि १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गाको हालसाविक गरी नयाँ पुर्जा बनाउनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो।
यस क्रममा नापी कार्यालय कलङ्कीका कार्यालय प्रमुखको दुईवटा मोबाइल, सर्भेक्षकको एक मोबाइल र कुँवरको मोबाइल गरी चारवटा मोबाइल डिभाइससमेत नियन्त्रणमा लिइएको छ।
आरोपी दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।