arrow

एनआईसी एशिया बैङ्कद्वारा ग्राहकलाई खातामा प्यान अद्यावधिक गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
nic-asia-logo-2081-red.jpg

काठमाडौँ। देशभर लाखौँ ग्राहकलाई गतिशील बैङ्किङ सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) शीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैङ्कका अनुसार “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा ग्राहकका कर कट्टी विवरण अभिलेखबद्ध गर्न प्यान अनिवार्य भएको हो। यसका लागि बैङ्कले अनलाइन र भौतिक दुवै माध्यमबाट सजिलो प्रक्रिया उपलब्ध गराएको छ।

ग्राहकहरूले आफ्नो प्यान अद्यावधिक गर्न panupdate.nicasiabank.com पोर्टल वा एनआईसी एशिया मो बैंक मोबाइल एपको “प्यान अपडेट” विकल्प प्रयोग गर्न सक्नेछन्। साथै, बैङ्कको जुनसुकै शाखामा गई प्यान अद्यावधिकका लागि प्रत्यक्ष आवेदन दिन सकिने व्यवस्था पनि मिलाइएको छ।

बैङ्कले निक्षेपकर्तालाई ब्याज भुक्तानी गर्दा काटिएको करलाई ई-टीडिएस अभिलेखमा सूचीकृत गर्न प्यान आवश्यक हुने जनाएको छ। प्यान अद्यावधिक भएपछि सो करकट्टी विवरण (ई-टीडिएस) सम्बन्धित प्यानमा प्रविष्ट गरिने भएकाले आयकर प्रणालीले स्वतः अनुसूची १० मा विवरण मिलान गर्नेछ। यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सजिलो बनाउनेछ, साथै प्रमाणपत्र लिन बैङ्कसम्म धाउनुपर्ने आवश्यकता पनि हट्नेछ।

बैङ्कले चेतावनी दिँदै भनेको छ कि प्यान अद्यावधिक नगरिएको अवस्थामा ई-टीडिएसमा ब्याज कर दाखिला नहुने, र त्यसपछि ब्याज करमा अतिरिक्त समायोजन गर्नुपर्ने परिस्थिति आएको खण्डमा त्यसको जिम्मेवारी बैङ्कले नलिनेछ।

यसअघि प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएको देखिएमा नजिकको शाखामा सम्पर्क गर्न वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैङ्कले आग्रह गरेको छ।

बैङ्कले यस अभियानमार्फत कर प्रशासनमा पारदर्शिता र ग्राहक सेवामा सहजता ल्याउने अपेक्षा व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ