कैदीको मृत्यु प्रकरणमा प्रजिअ अर्यालको भूमिका विवादित भन्दै चिकित्सक समाजको आलोचना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
645
Shares
वीरगञ्ज । वीरगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका राहुल साह तुरहाको मंगलबार नारायणी अस्पतालमा मृत्यु भएपछि अशान्ति भएको वीरगञ्ज जिल्ला प्रशासन कार्यालय पर्सामा सहमति भएपछि शान्त भयो।
घटनामा दोषीको पहिचान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन सहायक जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएकोमा सो समितिले निष्पक्ष ढंगले काम गर्नेमा शंका व्यक्त हुन थालेको छ।
मंगलबार दिनभरि अस्पतालमा जेल प्रशासनभन्दा प्रजिअ गणेशकुमार अर्यालले रेफर गरिएको बिरामी राहुल साह तुरहालाई अन्यत्र उपचारका लागि जान नदिएकाले मृत्यु भएको भनी हल्ला चल्यो।
नाम नखुलाउने शर्तमा एक चिकित्सकले बताए अनुसार राहुललाई हृदयघात भएको र तत्काल जाली राख्नु पर्ने मा त्यसको उपचार नारायणी अस्पतालमा सम्भव नदेखेपछि मेडिकल अफिसर इराज खानले नेशनल मेडिकल कलेजमा उपचारका लागि रेफर गरेका थिए। उनलाई एम्बुलेन्समा लैजान खोज्दा अचानक सुरक्षाकर्मीहरूले “सीडीओ साहेबले यही उपचार गराउन भनेकोले अन्यत्र लैजान नमिल्ने” भने।
सिकिस्त रहेका राहुलको समयमा उपचार नपाएपछि उनको मृत्यु भयो।
प्रजिअ अर्यालसँग “तपाईंले अनुमति दिनु भएन भन्ने कुरा बाहिर आएको छ” भनी प्रश्न गर्दा उनले भने, “म उपचारको व्यवस्था मिलाउन मेसुलाई निर्देशन दिएको थिएँ, आइसीयू खाली गरेर भए पनि उपचार गर्न भनेको हुँ।”
उनको यो प्रतिक्रिया सामाजिक सञ्जालमा आएपछि व्यापक आलोचना सुरु भएको छ । चिकित्सक समाज नेपालको ग्रुपमा चिकित्सकहरूले नारायणी अस्पतालमा सम्भव नभएको उपचार गर्नु प्रजिअ अर्यालको बदमासी र अदूरदर्शिताको उदाहरण भएको भन्दै आलोचना गरेका छन् । यसैले उनको मातहतका कर्मचारीले तयार गर्ने प्रतिवेदन दुरुस्त नहुने चिकित्सकहरूको बुझाई रहेको छ । (अंकुश दैनिक पत्रिकाबाट)