मधेसमा सशस्त्र र तस्करबीच बलियो साँठगाँठ, 'धान खाने मुसो, चोट पाउने भ्यागुतो' हुँदै
आईजीपीले खटाएको घुमुवा टोलीले पठाएको भिडियो भन्दा गणले पठाएको सामानको सूची एक चौथाईमात्र, अनुसन्धानको नाटक मञ्चन
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
1.2k
Shares
वीरगञ्ज । “धान खाने मुसो, चोट पाउने भ्यागुतो” भन्ने उखान सशस्त्र प्रहरी बलमा चरितार्थ हुन थालेको छ। छिन्नमस्ता बहिनी मधेस प्रदेश मुख्यालयका वर्तमान प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल केही वर्ष अगाडि एसपी हुँदा रौतहट जिल्लाको प्रमुख भई सबै अनुभव हासिल गरेका व्यक्ति हुन् । सीमा नाकाबाट ३५ किलोमिटर भित्र रौतहटको शिवनगरमा करिब ८४० बोरा चिनी उडेर होइन, सबैलाई मिलाएर गुडेर गएको थियो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका चेला शम्भु साह अहिले गौर नगरपालिका प्रमुखको पद सम्हालेपछि आफ्नो पुस्तैनी धन्दा उनका काकाका छोरा कौशल साहले भन्सार एजेण्टको आवरणमा सम्हालिरहेका छन् ।
रौतहट जिल्लाको नरकटिया नाकाबाट दैनिक सुनिल जायसवाल र उनको गिरोहका ४/५ ट्रक चिनी, गेडागुडी र खाद्यान्न, लत्ता–कपडा भित्रिन्छ ।
करिब साना–ठूला गरेर ४० वटा गिरोहले रौतहटको विभिन्न नाका प्रयोग गरेर मालसामान ओसारपसार गर्छन् ।
गत साउन २९ गते सशस्त्र प्रहरीका राजीव यादव र सहायक हवल्दार रोशन मिश्रलाई सशस्त्र प्रहरी महानिरीक्षाक (आईजीपी) राजु अर्यालले खटाएको घुमुवा टोलीले सुराकी दिएपछि हेडक्वार्टरको आदेशमा छापामारी गरे पनि एक चौथाइ सामान भन्सार बुझाएको र बाँकी तस्करलाई जिम्मा लगाएर टोली फर्किएको उच्च स्रोतको दाबी छ ।
रौतहट बस्दादेखि नै यहाँका तस्करहरूसँग हिमचिम भएको र छापामारी हुँदा ११ नं गणका गणपति सन्तोष बस्नेत पनि छिन्नमस्ता बाहिनीमै रहेकोले सबैको मिलेमतोमै तस्करी गरी ल्याइएको सामानको तीन चौथाईभन्दा बढी सामान तस्कर सुनिल जायसवाल र धर्मनाथ जायसवाललाई नै फिर्ता गरिएको बताइन्छ।
११ नं गणले बरामद गरेको सामानको सूची जब हेडक्वार्टरमा पुग्यो तब आईजीपी अर्याललाई तनाव भयो । उनको घुमुवा टोलीले पठाएको भिडियोअनुसार भन्सार पठाइएको सामानको सूची देखिएन ।
त्यसपछि बाहिनीमा डीएसपी अमर लामासहित १९ जनाको टोलीलाई झिकाएर अनुसन्धानको नाटक मञ्चन गरियो । पछि उनलाई हेडक्वार्टर झिकाइयो। उनको बयानका आधारमा ११ नं गणका प्रमुख एसपी सन्तोष बस्नेत र डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई झिकाएर बयान लिने नाटक मञ्चन गरिँदै छ।
वर्तमान आईजीपी अर्याल मधेस प्रदेशको कार्यभार सम्हालेका व्यक्ति हुन् । यहाँ के हुन्छ, के हुँदैन भन्ने सबै कुरा उनलाई जानकारी भए पनि मधेस प्रदेशका डीआईजी कृष्ण ढकाल वर्तमान मुख्य सचिवका आफन्त भएकोले उनलाई जोगाएर अरूलाई बलिको बोको बनाइँदै छ भन्ने स्रोतको दाबी छ ।