arrow

कर्णालीमा १० वर्षमा विपद्‌बाट ६१९ जनाको मृत्यु, साढे तीन अर्बको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
karnali-pradesh-province-always.jpg

भेरीगङ्गा (सुर्खेत)। कर्णाली प्रदेशमा पछिल्लो १० वर्ष (२०७२ देखि २०८१ सम्म) मा विपद्‌का घटनाले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कअनुसार, यो अवधिमा विपद्‌का कारण ६१९ जनाको मृत्यु भएको छ भने ६८ जना बेपत्ता भएका छन्। यसका साथै १,२६६ जना घाइते भएका छन्।

यस अवधिमा सबैभन्दा बढी मृत्यु जाजरकोटमा १८४ जनाको भएको छ भने सबैभन्दा कम मुगुमा २६ जनाको भएको छ। विपद्‌का घटनाबाट सबैभन्दा धेरै पहिरोले १८० जनाको ज्यान लिएको छ, त्यसपछि भूकम्पबाट १५४ जनाको मृत्यु भएको छ। आगलागीबाट ६४, चट्याङबाट ४६, बाढीबाट ३९, महामारीबाट ३४ र लेक लागेर २५ जनाको मृत्यु भएको प्रदेश सरकारका विपद्‌ सहजकर्ता उज्वल अधिकारीले जानकारी दिए।

आँकडाअनुसार, भूकम्प, पहिरो, आगलागी, चट्याङ र बाढीजस्ता प्रकोपले गर्दा कर्णालीमा ठूलो क्षति भएको छ। गत वर्ष जाजरकोटमा आएको भूकम्पबाट मात्रै २ अर्ब ४७ करोडभन्दा बढीको क्षति भएको थियो। समग्रमा, १० वर्षमा विपद्‌ले झन्डै साढे तीन अर्ब रुपैयाँको क्षति पुर्‍याएको छ।

विपद्‌को जोखिम कम गर्न प्रदेश सरकारले विपद्‌ पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमका अनुसार, कक्षा ९ देखि १२ सम्मका १३ हजार विद्यार्थीलाई विपद्‌बाट जोगिने उपायबारे जानकारी दिने हाते पुस्तक वितरण गर्ने योजना पनि बनाइएको छ, जसले सचेतना फैलाउन मद्दत गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ