सुदूरपश्चिममा आज ‘दुर्वाष्टमी’ मनाइँदै, गौरापर्वको मुख्य दिन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
662
Shares
बैतडी । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरादेवीलाई आज बर्तालु महिलाहरूले मन्दिरको गौराखला (आँगन) मा लगेर विशेष पूजा गर्ने चलन रहेको पण्डित जयानन्द भट्टले बताए।
बर्तालु महिलाले दिनभरि फाग गाएर बिरुडा (पाँच थरीका अन्न) ले गौरादेवीको पूजा गर्ने गर्छन्। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले हिजो गौरादेवीमा चढाएको मन्त्रिएको दुबधागो आज धारण गर्छन्। गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसंगहरू पनि महिलाहरूले फागमा गाउने गर्छन्।
गौराको पूजा सकिएपछि महिलाहरूले बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको टाउको पुजेर उनीहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन्। यो व्रत महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि र परिवारको सुख, शान्तिका लागि बस्ने गरेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए।
यस पर्वमा पुरुषहरूले भने ठाडोखेल, ढुस्को र धमारी जस्ता ऐतिहासिक खेलहरू खेल्ने गर्छन्। सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्त्व दिने यस पर्वमा परदेशिएकाहरू घर फर्किने र विवाहित चेलीहरू माइत आउने चलन पनि छ।
गौरापर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा भदौ १५ गते (आइतबार) र १६ गते (सोमबार) दुई दिन सार्वजनिक बिदा दिइएको छ।