अब बैँक नोट बाहेक सबै सरकारी कागजपत्र नेपालमै छापिन्छ : सरकारका प्रवक्ता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
903
Shares
काठमाडौँ । सरकारले बैँक नोटबाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकर, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।
आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा उनले भने, ‘अबदेखि बैंक नोटबाहेक सबै चिज हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप, राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरौँ । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौँ । यो बर्षदेखि बन्द गरेका छौँ, गएको बर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन बेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो ।’
उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपूर्जा जनक शिक्षा सामग्री केन्द्रलाई छाप्न दिएको बताए ।
‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनक शिक्षा सामग्रीमार्फत भिसा कार्ड, हुलाक टिकट र लालपूर्जा छाप्न दिएका छाैँ । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अब एक हप्ता लाग्छ । यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु’, उनले भने ।
बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खरिद गर्नुपर्ने बताए । उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनले सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्ट छाप्नुपर्ने बताए ।
‘परराष्ट्र मन्त्रालयले ६४ लाख पासवर्ड छाप्नुपर्ने भन्यो । त्यो हामीलाई ६ महिना अगाडि नै जानकारी गराउनुपर्छ । हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनले सुरक्षण मुद्रण केन्द्रसँग जोडिएका डकुमेन्ट छाप्नका लागि सुरक्षण मुद्रण ऐनअनुसार सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ’, उनले भने ।