एउटा सानो कार्यपत्र प्रस्तुत गर्न सिड्नी जाँदा बाटो पर्यो कामरेडको देश, याने कि चीनको । धेरैले चीनको विकासको बखान गरेको सुनिन्थ्यो । स्वर्ग झैं वर्णन सुनिन्थ्यो । सिचुवान हवाइ सेवाको विमान भएका कारण छेङ्दुस्थित ताइन्फू विमानस्थलमा आठ घण्टा समय बिताउन बाध्य भइयो ।
आठ घण्टा समय बिताउन आठ दिन झैं लाग्यो । न कोही अंग्रेजी बोल्छन् । बोले पनि मरे नबुझिने । बल्लतल्ल अलिअलि बुझिए पनि दोहोर्याएर सोध्दा झर्किने । झर्केका त होइनन् होला तर सुनिने त्यस्तै ।
न त चिनियाँबाहेक अरु मुद्रा नै चल्छ । दुई किलोमिटर टाढा एउटा पैसा साट्ने ठाउँ । कुन चिजको कति पर्छ भन्ने दोकानमा पुगेपछि मात्रा थाहा हुने भो ।
पैसा नपुगे फर्केर फेरि साट्न जानु पर्ने । अझ चाख लाग्दो विषय त के भने डलर साट्दा साढे चौध प्रतिशत कमिशन लिने । त्यस दिन एक अस्ट्रेलियन डलरको नेपाली रुपैयाँ ९० थियो । सय साट्दा आउने भयो नौ हजार । त्यसमा १४.५ प्रतिशत कमिशन कटाउँदा हातमा पर्यो ७७ सय । १३ सय झ्याप ।
अब केही त खानै पर्यो । खोज्दै जाँदा बदाम भेटियो । लौ न यही भए पनि हजाम गरौं भन्ने लागेर किनियो, १० युवानमा । हुँदो हो त्यस्तै सय ग्राम जति । दाम छ, नेपाली पैसो दुई सय रुपैयाँ । यता रत्नपार्कमा ५० रुपैयाँमा आउने भन्दा अलि कम ।
आठघण्टा थेगिएला त ?
गाह्रै पर्ला जस्तो लागेर मासु किन्न लागियो । अरु पनि १२–१५ नेपाली छन् । छोराछोरी भेट्न अस्ट्रेलिया हिँडेका । हाम्रो गेटबाट फेरि दुई किलोमिटर पर जाउ, पैसा साट फेरि मासु किन्न आउ ।
कुखुराको पखेटाको एउटा प्याक किनियो । ल्याएर यसो खोलेको त कहाँ खाइसक्नु छ र । पखेटाको टुप्पो, नंग्रामात्र पो भेटियो । कौशलटारका खड्का दाइले ठोके – सर यो त मेरो सेरुले पनि खाँदैन । घरको प्यारो जनावरको उदाहरण, क्या मज्जा खाली पेटमा बेसरी हाँसियो ।
हामीसँगै समाजवाद पनि बेसरी हाँस्यो । उदाङ्गो हुनुपर्दा लजायो । पूँजीवादका पिछलग्गु ठानिएका हामी मलिनो अनुहार पारेर बस्यौँ । यतैबाट चाउचाउ बोकेकाहरु सोफामा घुर्न थाले । खाली पेटवाला हामी हेरेको हेर्यै ।
फेरि अर्का सज्जन उठे । हैट ! यसरी त कहाँ हुन्छ र ? केही त खानु पर्यो नि । इटहरीका गुरुङ दाइ जोसिए –लु भाइ जाँउ, केही त ल्याउँ । मैले मुसुमुसु मुस्कुराँउदै भने –दाइ दिने हो त ? चारजना मिलेर एक बोत्तल खरीद गरियो, ड्युटी फ्री मा ।
यसैबेला अर्को रमिता । एकजना कोरिया जाने भाइ आएर तल्लो तलामा कताबाट जान्छ भने । त्यतिबेला मात्र थाहा भयो हामी त तेस्रो तलामा रहेछौँ । उनले त्यही मनि च्यान्जरलाई सोधे । बाहिर निस्केर तल्लो तला देखाए । बिचरा भाइ तल्लो तलो देखाउँछन्, ऊ विमानतिर देखाउँछ । बल्लतल्ल पर लिफ्ट देखेपछि उनी ढुक्क भए । कति आत्तिएका थिए, बिचरा ।
विमान भने भोलि बिहान ८ बजेको रहेछ । हामीले रातभर सुत्नु बिहान केही न केही भइहाल्छ नि भनेर ढाडस दियौँ तर अत्तालिएका उनी सहजै समालिएनन् ।
यसैबेला मनिच्यान्जरको ड्युटि फेरिएर नयाँ बहिनी आइन् । उनी अंग्रेजी बुझ्दि रहछिन् । उनले ती भाइलाई यसै तालाबाट विमान चढ्न सकिने जानकारी दिएपछि बल्ल उनी शान्त भए ।
बोत्तल त किनियो तर प्रतिक्षालयमा खान मिल्ने हो कि होइन । वकिल रंगका कपडामा चिटिक्क परेका सुरक्षाकर्मी आए ।
हामीले बोत्तल देखाएर खान मिल्छ भन्यौं । उनले खाने हो भन्ने बुझे । उनकै भाषामा केही भने । शायद म ड्युटिमा छु खान मिल्दैन भने होला झैं लाग्यो ।
कालिदासको कथा याद आयो । विवाह गर्न जोस्याइएका कालिदासलाई वधु बन्ने विदूषीले ईशारा गरेर सोधिछन् – ईश्वर एउटा छ होइन ?
विचरा कालिदासले बुझेछन्, तिम्रो एउटा आँखा फुटाइ दिउँ भन्ने । उनले तुरुन्तै जवाफ दिए, दुई वटा । उनले भन्न खोजेका थिए – यदि तिमी मेरो एउटा आँखा फुटाउँछ्यौ भने म तिम्रा दुईटै आँखा फुटाइदिन्छु ।
हामी पाँच कालिदास यस्तै अवस्थामा रह्यौं । हाम्रो विमान चढ्ने समय अझै ६ घण्टा बाँकी थियो । बाहिरको तापक्रम ३८ डिग्री छ भन्थे । तर भित्र चिसो । एसीको चिसो । ज्याकेट लगाएर चार पटक ओहोर दोहोर गरियो । त्यस्तै आठ किलोमिटर हिँडियो होला । हाम्रो गेटबाट त्यो ड्युटि फ्रि पसल त्यस्तै दुई किलोमिटर हुँदो हो । यो सबै कुरो घरभित्रको हो । हामी बाहिर जान मिल्ने गरी अनुमति प्राप्त थिएनौं ।
जब चार पटक यताउता गरियो, एक जना महिलालाई दया लागेछ । हातमा पालैपालो बोकेको बोत्तल देखेर यिनीहरु किन छटपटाए भन्ने लागेछ । उनले एकोहोरो हरेपछि मैले हिम्मत गरेर सोधें । क्यान वि ड्रिंक इन वेटिङ लन्ज अथवा त्यो प्रतिक्षालयमा हामीले मादक पदार्थ खान मिल्छ ? उनले बुझिनन् । फेरि बोत्तल देखाएर उता बस्ने ठाउँ देखाउँदै इशरा गरेर सोधें, क्यान वि ड्रिङ्क दियर । अब उनले बुझिन् । यस भनेपछि हामी ढुक्क भयौं । खाली पेटमा खाए नउठिने त्रास । अघिको बदामले छोडिसक्यो ।
फेरि सोधें, इज दियर एनी केएफसी ? केएफसी भनेपछि उनले बुझिन् । माथिल्लो तलामा केएफसी देखाइदिइन् ।
हैट ! त्यहाँ त झन् मरञ्च्याँसे बर्गर मात्र पाइयो । खिइएर बर्गरबाट स्यान्डविच जस्तो भएको ।
सम्झिनुहोस् न एक टुक्रा स्यान्डविच जत्रो बर्गर ।
खाउ कान्छा बर्गर र रक्सी ।
खड्का दाइ हाँसे ।
आर्मीका मान्छे ।
यसो मेनु हेर्दा पिठोमा लट्पट्याएर तारेको कुखुराको फिलाको चित्र देखियो ।
सोधेको त एक टुक्राको २५ युवान पर्ने रहेछ ।
पैसो सक्कि गो ।
फेरि गुरुङ दाइले २५ अमेरिकी डलर निकाले । साट्न गइयो उही दुई किलोमिटर पर । धन्न बर्गर खाएकाले बलियै भइएको थियो ।
पैसो आयो सय युवान । चार टुक्रा चिकन फ्राइ किनियो । तौलिँदा त्यस्तै थियो होला ५० ग्रामजति ।
त्यही मासु लिएर ग्लासको खोजीमा निस्किइयो । धन्न खड्का दाइले पानी खाने ठाउँमा कागजका ग्लास देखेका रहेछन् र त्यस रातको रमझम मनाइयो ।
मरेर साढे १२ बज्यो ।
गेट खोज्दै त्यसैको छेउँमा बसिएको थियो । १ बजे कर्मचारी आए ।
अब विमान चढेपछि मज्जाले खान पाइन्छ भन्ने खुशीले भित्र छिरियो । बाहिर बेसरी पानी दर्केको छ । रातको डेढ बजेको छ । अघिको बर्गर, बोत्तल र मासुले छोडिसक्यो ।
विमान उडेको एक घण्टापछि बल्लतल्ल खानेकुरो लिएर आए, कर्मचारीहरु ।
हामी क्या खुशी भयौँ ।
खुशी लामो समय टिकेन ।
के खान्छौ भनेर सोधे ।
भात भनेपछि ठूलो प्याकेट दिए । अब चाहीं पेट भरिने भो भनेको त खोलेर हेर्दा त चार चम्चाजति भात, एउटा केरा , तीन टुक्रा बिस्कुट, चार दाना बकुल्ला र एक चोक्टो सिन्की रहेछ ।
बिहान साढे ७ बजे घरमा खाएको खानाले मध्यान्ह १२ बजेसम्ममा यतै छोडिसकेको थियो ।
हुन त हाम्रोमा पनि विमानस्थल भित्रका पसले कसका मितबाबु छन् र । उही त हुन् । एक कफीको मात्र पाँच सय ठटाउँछन् ।
सानो प्याकेट पुष्टकारीको दाम आठ सय तिर्नुपरेको खड्का दाइ सुनाउँदै थिए ।
घरबाट बोकेका दुई दाना स्याउ पनि यतै सकिएका थिए ।
छेंदुबाट उडेपछि एकछिन त निदाइयो । पूर्वतिर उडिएकाले एकैछिनमा बाहिर उज्लायो देखियो तर अरु सुतेकाले झ्यालको ढक्कन खोल्न पाइएन ।
बढो मज्जाले भोक हेरियो । ओशोले भने झैं भोकलाई साक्षी भावले हेरियो । पेटको कुन कुनाबाट मुसा दगुर्न सुरु गर्छ र यसले कसरी आफ्नो बाटो बनाउँछ भन्ने राम्ररी महसुस गरियो ।
दशैं तिहारमा भाइबैना, छोराछोरी, भान्जाभान्जीसँग करिब ९० दिन बिताएपछि फेरि सोही रुटमा एक पटक भोकलाई जित्नु छ । कामरेड सीको देशमा झण्डै मरियो भोकले । फेरि त्यस्तो नहोस् भन्ने कामना ।
हेरौं के हुन्छ । (लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)
क्रमश....