‘राष्ट्रपतिले संविधान भित्रैबाट निकास खोज्नु हुनेछ भन्ने विश्वास छ’
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
777
Shares
जेन-जी पुस्ताका युवा समूहले गरेको आन्दोलनपछि अहिले देश अस्तब्यस्त अवस्थामा छ । देश सरकारविहीनताको अवस्थामा छ । अन्तरिम सरकार गठनका विषयमा विभिन्न अड्कलबाजी भइरहेको छ । संविधान, राष्ट्रपति र सेना प्रमुखको भूमिकाका विषयमा पनि सर्वत्र चासो र चिन्ता छ । यिनै विषयमा वर्तमान संविधान निर्माणका बखत महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग गरिएकाे फोन संवाद:
यहाँले जेन-जी पुस्ताका युवाले गरेको आन्दोलनलाई कसरी लिनुभएको छ ?
जेन-जी युवा पुस्ताले पहिलो दिन गरेको प्रदर्शनका मागहरू सकारात्मक थिए र उनीहरुको प्रदर्शन पूर्णतः अहिंसा र शान्तिमा आधारित थियो भन्ने मेरो बुझाइ छ । तर यो प्रदर्शनभित्र घुसपैठ गर्नेहरु प्रवेश गरेर हिंसा र आतंकका रुपमा मोड्ने प्रयास भयो । जसका कारण प्रहरीको गोली चल्यो र धेरै निर्दोष युवाहरूको मृत्यु भयो । कैंयौं घाइते भए । यो देशका लागि अत्यन्त दुःखद् घटना भयो । यसमा हामी सबैले दुःख व्यक्त गरेका छौँ । र यसको बारेमा उचित छानबिन गरेर न्याय दिनुपर्छ भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ । यो देशकै लागि अत्यन्तै दुःखद क्षण हो । जहाँ जेन-जी पुस्ताका हाम्रा कलिला भाइबहिनीहरुको निधन भएको छ ।
दोस्रो दिन सिंहदरबारमा आगलागी गराइएको छ । सर्वोच्च अदालतमा आगलागी गराइएको छ । संसदमा आगलागी गराइएको छ । देशभर राजनीतिक दलका नेता कार्यकर्तामाथि सांघातिक आक्रमण गरिएको छ । हाम्रै सभापति शेरबहादुर देउवामाथि, उहाँको धर्मपत्नीमाथि घरमै गम्भीर सांघातिक आक्रमण गरिएको छ । त्यो उमेरको मान्छेलाई गम्भीर घाइते बनाएको छ । अत्यन्तै निन्दनीय कार्य भएको छ ।
देशभर सरकारी कार्यालयहरू जलाइएको छ । प्रदेश कार्यालय, स्थानीय कार्यालयहरू, प्रशासनिक कार्यालयहरू, प्रहरी कार्यालयहरू जलाइएको छ । अत्यन्त ठूलो धनजनको क्षति भएको छ । त्यतिमात्र होइन, ठूलाठूला ब्यापारिक केन्द्रहरु, औद्योगिक केन्द्रमाथि आगलागी गराइएको छ । लुटपाट गरिएको छ । सञ्चारगृहमाथि समेत आक्रमण भएको छ । मेरो आफ्नै घरमा पनि आगजनी गरिएको छ । यो सिंगो नेपाल र नेपाली जनतामाथि ठूलो आतंक मच्चाउने काम त्यसदिनको घटनाबाट भएको मैले बुझेको छु । दोस्रो दिनको घटनालाई जति निन्दा गरे पनि पुग्दैन । त्यसमा जेन-जी का युवाहरू संलग्न छैनन् र उनीहरूको चाहना होइन भन्ने मेरो आफ्नो बुझाइ छ । यो देशका लागि अत्यन्त ठूलो दुर्घटना हो। यसको हामीले निरन्तर विरोध गर्नुपर्छ र यस्ता घटना नेपालमा कहिल्यै नदोहोरियोस भनेर हामीले कामना गर्नुपर्छ । प्रार्थना गर्नुपर्छ ।
अहिले राष्ट्रपति, प्रधानमन्त्रीको अवस्था अज्ञात छ । दलका नेताहरूको अवस्था पनि अज्ञात छ । यो अवस्थामा संविधानको विषय पनि उठिरहेको छ । अबको निकास के हुन्छ ?
मेरो आफ्नो बुझाइमा प्रधानमन्त्रीजी सेनाको ब्यारेकमा हुनुहुन्छ । उहाँको एउटा अभिव्यक्ति बाहिर आएको छ । राष्ट्रपति पनि सकुशल हुनुहुन्छ, राष्ट्रपति भवनभित्रै हुनुहुन्छ भन्ने हाम्रो विश्वास हो । सेनाले सुरक्षा दिएकै हुनुपर्छ भन्ने विश्वास छ । अब आजको दिनको समस्याको निकास भनेको अहिले भइरहेको संविधान भित्रबाट नै हुनुपर्छ भन्ने मेरो आफ्नो बुझाइ छ । संविधानमा नै उभिएर र संविधानमा नै आधारित भएर अहिलेको निकास निकाल्न सक्नु पर्दछ ।
त्यो निकास भनेको कस्तो ?
त्यो निकास भनेको प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि अर्को प्रधानमन्त्री बन्ने ब्यवस्था हुनुपर्छ । अर्को प्रधानमन्त्री बन्ने भनेको प्रतिनिधि सभाको सदस्य मात्रै प्रधानमन्त्री बन्ने अवस्था संविधानमा छ । राष्ट्रपतिले प्रधानमन्त्री बनाउँदा पनि त्यहाँभन्दा बाहिर जाने स्थिति मैले देखेको छैन । जहाँसम्म जेन-जी पुस्ताका भाइबहिनीहरुको अन्तरिम सरकारमा सामेल हौं भन्ने माग छ, प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री बनाएर शान्तिपूर्ण आन्दोलनमा सरिक हुने जेन-जी समूहका भाइबहिनीहरुलाई पनि उहाँहरूको सिफारिसमा अन्तरिम सरकारमा सामेल गर्न सकिन्छ । सरकारको सिफारिसमा र त्यसको निर्णयमा देशलाई निर्वाचनतर्फ लैजान सकिन्छ । यो मेरो आफ्नो मत हो । संविधान भित्रैबाट हामीले निकास खोज्यौँ भने देशलाई हामीले शान्तिको बाटोमा, स्थिरताको बाटोमा लैजान सक्छौँ । अन्यथा देशले ठूलो दुर्घटना ब्यहोर्नुपर्छ भन्ने मलाई लाग्दछ ।
राष्ट्रपतिको भूमिका अब कस्तो रहन्छ ? उहाँले आफ्नो भूमिकालाई कसरी अघि बढाउन सक्नुहुन्छ?
अहिले म सँग संविधानको पुस्तक त छैन । तर, जहाँसम्म मैले संविधानलाई बुझेको छु, संविधानको पालना गर्नु र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुन्छ । राष्ट्रपतिले संविधान भित्रैबाट यो अवस्थाको निकास खोज्नु पर्छ । उहाँले आवश्यक ठानेका राजनीतिक दलका नेताहरू, कानूनविद्हरु, न्यायिक क्षेत्रमा काम गर्ने मानिसहरू, शान्तिपूर्ण आन्दोलनमा भाग लिने जेन-जी पुस्ताका अगुवालाई पनि राखेर निकान दिन सक्नुहुन्छ भन्ने मलाइ लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेल लामो संघर्ष, त्याग र बलिदानी गरेरै आउनुभएको व्यक्ति हुनुहुन्छ । देशप्रति समर्पित, संविधानप्रति समर्पित, लोकतन्त्र, लोकतान्त्रिक शासन व्यवस्थाप्रति समर्पित हुनुहुन्छ । त्यसैले उहाँले सम्बद्ध सबै पक्षलाई सम्झाएर, बुझाएर, देशको स्थायी शान्तिका लागि स्थिरताका लागि संविधान भित्रैबाट निकास खोज्नुहुन्छ भन्ने विश्वास छ ।
अब सुरक्षा निकायको भूमिका चाहीँ कस्तो हुनुपर्छ ?
नेपाली सेना पनि संविधानप्रति प्रतिबद्ध संस्था हो । नेपाली सेनाप्रति सुरक्षाका दृष्टिकोणले आशा भरोसा छ । नेपाल र नेपाली जनताको सुरक्षाका लागि नेपाली सेना सक्षम रहन्छ भन्ने मलाइ लाग्दछ । सशस्त्र प्रहरी बल पनि छ । नेपाल प्रहरी पनि छ । यी सबै सुरक्षा संयन्त्र मिलेर शान्ति सुरक्षाको व्यवस्था क्रमिक रुपमा गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ ।
यहाँ संविधान निर्माणका क्रममा महत्वपूर्ण भुमिका निर्वाह गरेको व्यक्ति पनि हुनुहुन्छ, यतिबेला जनता र देशलाई संविधान के हुन्छ भन्ने चिन्ता छ । यहाँको धारणा के छ ?
हामी सबैले शान्तिको कामना गरौँँ । स्थिरताको कामना गरौँं । संविधानको रक्षा होस् । संवैधानिक व्यवस्थाको रक्षा होस् भनेर कामना गरौँं । यो संविधानको पक्षधरहरु नेपाल र नेपालीको समुन्नतिका लागि सधैँ एक ठाउँमा उभिने प्रयास गरौँं । भावनात्मक रुपमा जहाँजहाँ छौँ सबै एकताबद्ध भएर सजक बनौँ । स्थिरता र शान्तिको लागि कामना गरौँं । सबै युवाहरुमा मेरो आग्रह छ । तपाइँले उठाउने सम्पूर्ण मागहरू अहिंसा र शान्तिमा आधारित होस् । युवा पुस्ताका सबैलाई मेरो आहवान र देशभरका दिदीबहिनी, दाजुभाइहरुलाई मेरो अपिल छ । हामी सबै एकताबद्ध भएर देशको अस्तित्व जोगाउनुपर्छ । देशलाई संकटमा पर्नबाट जोगाउनु पर्छ । यो देश सबै नेपालीको हो भन्ने भावनालाई हामीले एकताबद्ध भएर अगाडि जान सक्नु पर्दछ । सबै मिलेर राष्ट्रिय एकता र मेलमिलाप कायम गरेर अगाडि जानुको विकल्प छैन ।