सबैभन्दा ठूलो जेन-जी विद्रोह त जनयुद्ध नै हो : प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
1k
Shares
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेन-जी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् ।
संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेन-जी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे ।
उनले भने, ‘जतिबेला हामीले विद्रोह शुरू गरेका थियौँ, त्यो बेला पनि ९० प्रतिशत भन्दा धेरै जेन-जी पुस्ता नै थिए । त्यसैले सबैभन्दा ठूलो जेन-जी विद्रोह त जनयुद्ध नै हो । कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौँ ।’
उनले संसद् विघटन गर्नेमात्र नभई संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन भएका कसरत नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन आफूले भूमिका खेलेको पनि उनको दाबी छ ।
‘मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । मैंले अन्तिममा समस्याको सहजीकरण गर्नेक्रममा रातभर बसेर राष्ट्रपति, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकारमा गएर भएपनि संविधान बचाउनुपर्छ भनेर आग्रह गरेको हुँ’, उनले भने ।
अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि राष्ट्रपतिले रामचन्द्र पौडेल दह्रोसँग उभिएको भन्दै प्रशंसा गरे ।
उनले भने, राष्ट्रपतिजी संविधानका रक्षाका लागि दह्रोसँग नउभिएको भए आज परिस्थिति अर्कै हुन सक्थ्यो । त्यसले म उहाँलाई बधाई भन्न चाहन्छु ।’
उनले जेन-जीले उठाएका माग आफूहरूले १० वर्ष अगाडि नै उठाएको भन्दै त्यो बेला आफूहरुको माग सुनेको भए अहिले जेनजी आन्दोलन गर्नुपर्ने अवस्था नआउने पनि धारणा राखे ।
‘संख्याका बलमा हाम्रो आवाज वेवास्ता गरियो । धेरै अहंकार ठूला भन्ने पार्टीहरूले गरे । यस्तो अहंकारका कारण ती पार्टीलाई भोलि जनताले बढार्छन् भनेर मैँले त पटक-पटक भनेको थिएँ । यस्तो अहंकारको मूल्य धेरै चर्को पर्नेछ । जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ र यो कुनै बेला विस्फोट हुन सक्छ मैले श्रीलंका र ंबंगलादेशको घट्ना स्मरण गराएको थिए । त्यसैको अभिव्यक्तिको रुपमा जेन-जी आन्दोलन भयो ।’