कलाकार आनाको पहिलो एकल कला प्रदर्शनी ‘इन द सेल्टर अफ नेचर’
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
831
Shares
काठमाडौं। ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीमा अहिले युवा कलाकार आना ढकालको पहिलो एकल कला प्रदर्शनी चलिरहेको छ। 'इन द सेल्टर अफ नेचर' शीर्षकको यस प्रदर्शनीमा प्रकृति, गुम्बा र फूलहरूलाई मुख्य विषयवस्तु बनाइएको छ।
ढकालले चितवनको आफ्नो बाल्यकालमा आमासँग जाने गुम्बाको दृश्यलाई क्यानभासमा उतारेकी छन्, जहाँ सुन्दर गुम्बा, सानो ताल र कमलका फूलहरू देख्न सकिन्छ। प्रदर्शनीमा रहेको अर्को आकर्षण पुरानो बौद्ध गुम्बाको चित्र हो। कुनै विदेशीले सहर बन्नुअघि खिचेको तस्बिरलाई उनले क्यानभासमा उतारेकी छन्, जहाँ परम्परागत घरहरू र प्राकृतिक फाँटहरू मात्र देखिन्छन्।
ढकालका अनुसार, उनी मानिससँगभन्दा प्रकृतिसँग नजिक भइन् र त्यसैले उनका कलाहरूमा प्रकृति, फूल र धर्मले स्थान पाएका छन्। उनी विशेष गरी तेल रङको प्रयोग गर्न रुचाउँछिन्। वनजङ्गल, खोलानाला, भिरपाखा, तालतलैया र डाँडाकाँडाहरू उनका सृजनाका मुख्य विषय हुन्।
उनले बौद्धलाई पनि आफ्नो कलाको विषय बनाएकी छन् किनभने बुद्ध शान्त लाग्छन् र बौद्धले सबै नेपालीलाई जोड्छ। उनले भनिन्, “म रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, किनभने प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ।”
आनाले औपचारिक रूपमा कला नपढे पनि विगत पाँच वर्षदेखि यस क्षेत्रमा सक्रिय छिन्। उनले जेन-जी आन्दोलनलाई पनि आफ्नो कलामा जोडेकी छन्। भ्रष्टाचार रोकौँ भन्ने नाराको समर्थन गर्दै उनी ग्रामीण दृश्यचित्र भएको क्यानभास बोकेर माइतीघर पुगेकी थिइन्। उक्त क्यानभासमा सयौँ युवाले हस्ताक्षर गरेर उनको अभियानलाई समर्थन गरेका थिए। अहिले त्यो क्यानभास पनि प्रदर्शनीमा राखिएको छ।
कुञ्जकी अध्यक्ष स्वेता चन्दले आनाले प्रकृतिलाई सुन्दर ढंगले प्रस्तुत गरेको बताइन्। कुञ्जले आयोजना गरेको यो दोस्रो कला प्रदर्शनी हो र यो प्रदर्शनी अझै आठ दिनसम्म चल्नेछ।