arrow

राउटे नीति तत्कालै लागू गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
raute-karnali.jpg

सुर्खेत । घुमन्ते लोपोन्मुख राउटे समुदायको उत्थान, संरक्षण सशक्तीकरणका लागि राउटे नीति तयार गरिएको छ । 

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बनाएको राउटे नीति सरोकारवाला पक्षसँगको छलफलपछि तत्काल लागू गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए ।

‘शिक्षा, स्वास्थ्य, गास, बास, कपासलगायत राउटे समुदायको समग्र सशक्तिकरणका लागि नीति बनाएका छौँ,’ मन्त्री भण्डारीले भने, ‘सरोकारवाला पक्षसँग छलफल गरेर यसलाई चाँडै कार्यान्वयनमा लैजान्छौँ ।’

मन्त्री भण्डारी राउटे समुदाय प्रकृतिमा रमाउने भएकाले सोही अनुसार उनीहरुको संरक्षण गर्नुपर्ने सरकारको धारणा रहेको बताए ।

राउटे समुदायले प्रकृतिमा रमाउन सक्ने र उनीहरूको परम्परागत सीप र कलालाई संरक्षण गर्ने गरि नीति बनाइएको उनले बताए । 

त्यसका लागि राउटे करिडोर निर्माण गरि विगत १० वर्षदेखि उनीहरू बस्दै आएको स्थानलाई करिडोरभित्र समेट्ने, करिडोरभित्र पर्ने सामुदायिक वनमा उनीहरुका लागि आवश्यक वृक्षरोपण गर्नेलगायतका विषय नीतिमा समावेश गरिएको मन्त्रि भण्डारीले जानकारी दिए ।

राउटेलाई वस्ती प्रवेशमा कडाई, बाह्य मदिरा नियन्त्रण, उनीहरुको कला, संस्कृति र सीपको संरक्षण गरी उनीहरूको सशक्तीकरण गरिनेलगायतका बिषय राउटे नीतिमा समेटिएको उनले बताए ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समिति सभापति पूर्णबहादुर खत्रीले राउटे समुदाय पछिल्ला दिनमा कुलतमा परेको भन्दै यसबाट जोगाउनुपर्नेमा जोड दिए । 

राउटे समुदायलाई सरकारले उपलब्ध गराउँदै आएको भत्ता नगदबाट जिन्सीमा दिने गर व्यवस्था गर्नुपर्ने उनले  बताए । 

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर विष्टले लोपोन्मुख राउटे समुदायको संरक्षणका लागि सरकारले कानून बनाउने तत्परता नदेखाए प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता गर्ने बताए । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी माधव श्रेष्ठले राउटे समुदायको सुरक्षाका लागि  घुम्ती प्रहरी चौकी स्थापनाका लागि आफू पनि माथिल्लो निकायमा पहल गर्ने र प्रहरी प्रधान कार्यालयमार्फत प्रहरी चौकी स्थापनाका लागि पहल गर्न सरोकारवालालाई आग्रह गरे। 

आदिवासी जनजाति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष रेशम गुरुङले राउटे समुदायका लागि सामाजिक जागरणका कार्यक्रम आवश्यक रहेको बताए । उनले राउटे समुदाय बस्ने गरेका स्थानीय तह र कर्णाली प्रदेश सरकारले यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कर्णाली प्रदेशका जिल्लाहरू खासगरी दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको जङ्गलमा बसाइ सर्दै फिरन्ते जीवन बिताउने राउटे समुदाय नेपालको एक लोपोन्मुख जातीय समुदाय हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ