वडा कार्यालयबाटै सेवा प्रदान गर्न मुख्यमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
1.1k
Shares
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जेनजी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षहरूसँग छलफल गरेका छन् ।
आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालय आगजनी र तोडफोड गरिएपछि ती वडाले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन ।
मुख्यमन्त्री मंगलबार जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राहीसहित वडा अध्यक्षसँग छलफल गरेका थिए ।
वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेनजी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रुपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो ।
स्थलगत अवलोकन गर्दै मुख्यमन्त्रीले वडा कार्यालयका संरचना आगजनी र तोडफोडपछि सेवा प्रवाहबारे भइरहेको असुविधाबारे वडा अध्यक्षसँग छलफल गरेका थिए ।
मुख्यमन्त्री कडेलले अब अवस्था सामान्य हुँदै गएकोले एक थान कम्प्यूटर राखेर जलेकै भवनबाट भए पनि सेवा प्रवाह गर्नु गर्न सुझाव दिएका थिए ।
मुख्यमन्त्रीले भने, ‘भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ वडाबाटै सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ,सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ, जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस ।’
गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो ।
आन्दोलनकै क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । सात वटा वडा कार्यालय पूर्णरूपमा जलेर खरानी भएका छन् ।
वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ ।
घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठूलो धक्का पुर्याएको भए पनि मुख्यमन्त्रीले कठिन समयमा पनि जनताले पाउने सेवा-सुविधा जनताकै घरआँगनबाटै दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।