कास्की प्रशासनमा नयाँ नागरिकतासहित थप सेवा [सूचनासहित]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
960
Shares
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आज बुधबारदेखि नयाँ नागरिकतासहितका थप सेवा सञ्चालन गर्ने भएको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै यस विषयमा जानकारी गराएकाे हाे ।
भदौ २४ गतेको तोडफोड, आगजनी तथा लुटपाटलगायतका घटनापछि प्रभावित बनेको सेवा अब क्रमिक रूपमा विस्तार हुने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार बुधबारदेखि नयाँ नागरिकतासम्बन्धी सेवा, राहदानी वितरण सेवा र भारतीय पेन्सन सिफारिससम्बन्धी सेवा सञ्चालनमा आउने छन्।
राहदानी वितरण सेवाअन्तर्गत राहदानी विभागबाट पठाइएका राहदानीबारे “Your Passport is ready to collect” भन्ने SMS प्राप्त भएकाले मात्र सेवा लिन कार्यालय सम्पर्क गर्न आग्रह गरिएको छ।
यता, इलाका प्रशासन कार्यालय लेखनाथबाट राष्ट्रिय परिचयपत्र वितरण, (CCIMS) मा नभिडेका नागरिकता, राहदानीका लागि फोटो खिच्ने, संघसंस्था, नाबालक विवरण अद्यावधिक जस्ता कार्य शीघ्र शुरू गर्ने बताइएकाे छ।