arrow

नेपालको ऐतिहासिक जित, वेष्ट इन्डिजविरुद्ध श्रृंखला कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
nep-wi-unity-cup-2025.jpg

काठमाडौँ । नेपालको पुरुष क्रिकेट टिमले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको छ । नेपालले टी–२० क्रिकेटमा टेष्ट क्रिकेट टिम वेष्ट इन्डिजविरुद्ध श्रृंखला जितेको छ । 

यूएईको शारजहाँ क्रिकेट मैदानमा तीन खेलको श्रृंखलामा लगातार दोस्रो खेल जितेर नेपालले एक खेलअघि नै श्रृंखलामाथि कब्जा जमाएको हो । 

गत शनिबारको पहिलो खेल १९ रनले जितेर कुनै पनि टेष्ट मान्यता प्राप्त राष्ट्रमाथि पहिलो जित निकालेर इतिहास रचेको नेपालले सोमबार राति भएको दोस्रो खेलमा ९० रनको फराकिलो जित निकाल्दै झनै ठूलो कीर्तिमान बनायो । 

खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनायो । आसिफ शेखले ४७ बलमा अविजित रहँदै ६८ तथा सन्दीप जोराले ३९ बलमा ५ छक्काको मद्धतले ६३ रन जोडे । जवाफमा वेष्ट इन्डिज १७.१ ओभरमा अलआउट हुदै ८३ रनमा रोकियो ।

जासन होल्डरले सर्वाधिक २१ रन बनाएको इनिङ्सलाई कम योगफलमा रोक्ने क्रममा मोहम्मद अदिल अलामले ४, कुशल भुर्तेलले ३ तथा ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र करण केसीले १–१ विकेट लिए । 

नेपालले यसअघिसम्म कुनै पनि टेष्ट मान्यताप्राप्त टिमलाई नहराएकामा यसपालि वेष्ट इन्डिजविरुद्ध श्रृंखलामा नै कब्जा जमाएको हो । 

अन्तिम तथा तेस्रो खेल मंगलबार राति हुँदैछ । यो खेल जिते नेपालले श्रृंखलामा क्लिन स्वीप गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ