पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं ३ जयमंगलापुरमा शुक्रबार बिहान एक युवकको शव भेटिएको छ ।
गाउँपालिकाको टिहुनी झलमहिया-भिष्ण सडकखण्डत वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुल नजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय नम्बर प्लेट (१२७३) रहेको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घटनाबाट भएको हुन सक्ने सम्भावना बढी रहेको प्रहरीले जनाएको छ ।
मृतकको मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र निश्चित हुने प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि वीरगञ्ज ल्याइएको छ ।