arrow

टी–२० विश्वकप छनोटमा नेपाल र कतार मैदानमा, जितले नेपाल विश्वकपमा छानिने, ब्याटिङमा संघर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
t-20-nep-qatar-25-10-13.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकप टी–२० क्रिकेटका लागि नेपाल एक जित टाढा रहेको छ । नेपालले अहिले ओमानको मस्कटमा भइरहेको टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारसँग खेलिरहेको छ ।

यो खेल जित्दा नेपाल विश्वकपमा छानिने लगभग पक्का हुनेछ । कतारविरुद्धको खेल राति ८ः४५ बजेदेखि चलिरहेको छ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरेको छ । 

नेपालले २५ रन जोड्दा ओपनिङ जोडी आसिफ शेखलाई ११ तथा कुशल भुर्तेललाई  ६ रनमा गुमाएको छ । 

त्यस्तै ४८ रन जोड्दा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्ल ८ रन बनाएर आउट भए । 

कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ब्याटिङ सम्हालेका छन् । 

दश ओभर खेल्दा नेपालले ३ विकेटको क्षतिमा ६० रन बनायो ।

यसअघि नेपालले आइतबार यूएईमाथि एक रनको सनसनीपूर्ण विजय हात पारेको थियो । दाबेदार मानिएको यूएईमाथिको यस विजयपछि नेपाल विश्वकपको नजिक पुगेको हो । 

खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रन बनाउन सकेको थियो ।

जवाफमा जित नजिक पुगेको यूएईलाई अन्तिम ओभरमा विजयका लागि १० रन आवश्यक भएको समयमा दीपेन्द्रसिंह ऐरीले ८ रनमात्र दिएका थिए । 

सो क्रममा नेपालले ३ विकेट लिँदै नाटकीय जित हात पारेको थियो । जसका कारण यूएई ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्रले अन्तिम ओभरको पहिलो दुई बलमा १ रनमात्र दिएका थिए । तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे । त्यसपछि नेपालले लगातार तीन विकेट लिएको थियो । 

चौथो बलमा दीपेन्द्रले परासरलाई बाउन्ड्री लाइनमा क्याच गराएका थिए । पाँचौँ बलमा सन्दीप जोराले हैदर अलीलाई रनआउट गरे । 

छैटौँ तथा अन्तिम बलमा यूएईलाई विजयका लागि ३ रन चाहिन्थ्यो । तर जुनाइद सिद्धिकी २ रन लिने क्रममा रोहित पौडेलको थ्रोमा रनआउट भए । 

यसरी नेपालले रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । 

सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ ।

अब आज रातिको बहुप्रतिक्षित खेलले नेपाललाई थप उत्साही बनाइरहेको छ । यो खेल जित्दा आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान लगभग पक्का हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ