arrow

राउटेहरू उपचार गर्न नमान्दा समस्या, डेंगीले २५ जना थलिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
raute-karnali.jpg

सुर्खेत । फिरन्ते जीवन जीउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका वडा नं ८ मा बस्दै आएका राउटे समुदायमा बिरामीको सख्या बढ्दै गएको छ ।

पछिल्लो एक हप्तामा यो समुदायका २५ जना बिरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदायमा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ । 

दुई जना बिरामीबाट शुरू भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनले बताइन् ।

बिरामीलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भएपछि बिरामी राउटेहरू थला परेका छन् । 

डेंगी लगायतका अन्य स्वास्थ्य परीक्षणमा मन नगर्ने राउटेलाई प्राथमिक उपचारमा सीमित राख्नु परेको उनको भनाइ छ । 

‘राउटे बस्तीमा ज्वरोको संक्रमण बढ्दो छ । २५ जनाभन्दा बढी बिरामी परेका छन्,’ स्वास्थ्यकर्मी पन्तले भनिन्, ‘तर राउटेहरू डेङ्गुलगायत रोग चेकजाँच गर्न मान्दैनन् । त्यसैले प्राथमिक उपचारमात्र गर्ने गरिएको छ ।’

अस्वस्थ जीवनशैली, मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनका कारण राउटे समुदायका मानिसमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बल्झदै गएका छन् । 

राउटेहरू प्रायः कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन् । राउटे समुदायको संख्या लगातार घटिरहेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या हाल घटेर एक सय ३७ जनामा झरेको छ । 

बस्ती असुरक्षित

समुदायमा त्रास बढेपछि राउटेले सुरक्षा माग गरेका छन् । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसूस गर्न थालेका हुन् ।

जंगलमा बस्दै आएका उनीहरूका बस्तीमा जथाभावी बाह्य व्यक्तिको प्रवेशले असुरक्षित महसूस गरेको उनीहरूको भनाइ छ । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको हो ।

असोज २४ राति राउटे समुदायमा त्रास सिर्जना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले नियन्त्रणमा लिएका थिए ।

सुर्खेतको लेकबेशी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटे बस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार पक्राउ परेका लेकवेशी नगरपालिका स्थायी घर भएका उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले राउटे बस्तीमा अनाधिकृतरुपमा प्रवेश गरेका उनीमाथि अनुसन्धान थालिएको बताए । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेशले राउटे समुदाय असुरक्षित बन्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ