काठमाडौँ । नेपाल टी– २० विश्वकपमा पुगेको छ । ओमानको मस्कटमा जारी इस्ट एसिया प्यासिफिक छनोटबाट नेपाल र ओमानले दुई खेलअघि नै भारत र श्रीलंकाको संयुक्त आयोजनामा आगामी फेब्रुअरीमा हुने विश्वकपमा टिकट काटेका हुन् ।
बुधबार बेलुकी सम्पन्न खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान सुरक्षित गरेका हुन् ।
कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रोपटक विश्वकपमा पुगेका हुन् ।
नेपाल र ओमानले आपसमा खेल्नुपूर्व नै विश्वकपमा स्थान पक्का गरेका हुन् । सुपर सिक्स चलिरहँदा शीर्ष तीनमा रहने टिम विश्वकपमा पुग्नेछन् ।
नेपाल र ओमानको समान ६ अंक रहेको छ । सामोआलाई हराएसँगै यूएईको पनि विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
नेपाल र ओमानले अहिले खेल्दै गर्दा विजेता टिम शीर्ष स्थानमा रहने छ । अहिले रनरेटमा ओमान अगाडि छ ।
सुपर सिक्समा रहेका जापान, कतार र सामाओले अब ६ अंक बटुल्न नसक्ने भएसँगै नेपाल र ओमानले विश्वकपमा स्थान सुरक्षित गरेका हुन् । तेस्रो टिम यूएई बन्न सक्छ ।
समूह विजेता बन्दै २ अंक बोनससहित सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्समा यूएईमाथि एक रन र कतारमाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकपमा पुगेको थियो । १० वर्षपछि दोस्रो पटक विश्वकपमा पुगेको नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न पाएको थियो ।
यसअघि गत वर्ष नेपालले अमेरिका र वेस्ट इन्डिजमा आयोजित विश्वकपमा स्थान बनाएको थियो ।