arrow

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
kaski-karagar-kaidibandi.jpg

पोखरा । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । 

कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो ।

उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

“गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ । तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खोजतलास शुरू गरिएको हो”, उनले भने ।

पक्राउ परेकाहरूमा जबर्जस्ती करणी मुद्दा र लागूऔषध मुद्दाका १६-१६ जना छन् । चोरी मुद्दाका २५, कर्तव्य ज्यान मुद्दाका आठ, ज्यान मार्ने उद्योगका नौ, अभद्र व्यवहारका चार, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक-एक जना रहेका प्रहरीले जनाएको छ ।

जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माले प्रदर्शनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै दुई सय बढी फरार रहेका जानकारी दिए । 

कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म फर्कन समय दिइएको थियो । 

तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको हो ।

उनीहरूलाई प्रचलित कानूनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानूनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।

प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा भने सुरक्षित छ ।

त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ