नेपाल उपाधिसहित विश्वकप खेल्ने प्रतिक्षामा, सामोआसँगको खेल सवा ४ बजेदेखि, त्यसअघि जापानसँग ओमान पराजित भए नेपाल स्वतः उपाधि विजेता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
2.1k
Shares
काठमाडौँ । नेपाल उपाधिसहित टी–२० विश्वकपमा पुग्न अब धेरै समय छैन । आज बेलुकी नै नेपालले यो खुशीको खबर दिन सक्छ । अझ अंक तालिकाको समीकरण हेर्ने हो भने नेपालले आफ्नो खेल खेल्नु पूर्व पनि उपाधि जितेको खबर पाउन सक्छ ।
ओमानको मस्कटमा आयोजना भइरहेको एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग खेल्दैछ ।
खेल अपरान्ह सवा ४ बजेदेखि शुरू हुँदैछ । यो खेल जित्दा नेपालले अपराजित रहँदै स्वतः शीर्ष स्थानमा रहेर उपाधि जित्नेछ । यो आफैँमा नेपालका लागि कीर्तिमान हुनेछ ।
नेपालले अन्तिम खेल खेल्नुअघि ओमानले आफ्नो अन्तिम खेलमा बिहान पौने १२ बजे जापानसँग खेल्दैछ । यदि यो खेलमा ओमान पराजित भयो भने नेपालले आफ्नो नतिजा सकारात्मक ननिकाले पनि स्वतः उपाधि जित्नेछ ।
जापानलाई नेपालले पाँच रनले हराएको थियो भने ओमानलाई ३८ रनले । यो आँकडा हेर्ने हो भने जापान पनि बलियो नै छ । तर घरेलु मैदानमा नेपालसँग गरेको गल्ती ओमानले पक्कै गर्ने छैन ।
यदि जापान विजयी भयो भने नेपालले उपाधि जित्नका लागि सामोआसँगको खेल कुर्नु पर्दैन ।
अपराजित नेपालको ८ अंक छ भने दोस्रो स्थानको सबै खेल खेलेको यूएईको ६ अंक छ । त्यस्तै एक खेल कम खेलेको ओमानको ६ अंक नै छ । ओमानले हार्दा स्वतः नेपालले सामोआसँग खेल्नुअघि नै उपाधि जित्न सक्छ ।
यदि ओमान विजयी भयो भने नेपालसँग अंक बराबरी गर्नेछ । रनरेटमा पनि अगाडि हुन सक्छ । त्यसपछि भने नेपाललाई उपाधि जित्न सामोआलाई नहराइ हुने छैन ।
सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिन पाउने छन् ।
नेपाल, यूएई र ओमान विश्वकपमा पुगिसकेका छन् । सबै खेल खेलेको कतार तथा एक खेल कम खेलेका जापान र सामोआ बाहिरिइसकेका छन् ।
कतारको ४ अंक छ भने जापानको २ तथा सामोआ अंकविहीन छ ।
नेपालले छनोटका यसअघिका सबै खेल जितेको छ । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो ।