arrow

उपाधि विजेता बन्दै विश्वकपको बाटोमा

नेपालले सामोआलाई दियो २१२ रनको चुनौती

आसिफ शेखको ४१ बलमा ६९ तथा दिपेन्द्र सिंह ऐरीको ३३ बलमा ५३ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
nep-wc-t20-2025.jpg

काठमाडौँ । टी–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले अहिले सामोआसँग खेलिरहेको छ । ओमानको मस्कटमा आयोजना भइरहेको एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई जितका लागि २१२ रनको चुनौती दिएको छ । 

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा यो प्रतियोगिताकै सर्वाधिक २११ रन बनाएको हो । यो जारी प्रतियोगिताकै सबैभन्दा दोस्रो उच्च योगफल हो । 

नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ तथा दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रन बनाए । पहिलो विकेटका लागि आसिफसँग ६३ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेल १५ बलमा १७ रन बनाए । 

पाँचौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गर्ने क्रममा लोकेश बलले करियरकै उत्कृष्ट १२ बलमा अविजित रहँदै ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाए । 

यो खेल जित्दा नेपाल उपाधिसहित विश्वकपमा पुग्नेछ । हारले नेपाल उपविजेता हुने सम्भावना हुनेछ । 

आज भएको पहिलो खेलमा ओमानले जापानमाथि सहज जित निकाल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । ओमानले जापानलाई ९ विकेटले हराएको हो । 

१०४ रनको सामान्य चुनौती ओमानले १७ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो । यो खेलमा ओमान पराजित भएको भएमात्र नेपाल सामोआसँग खेल्नुअघि नै विजेता हुने थियो । 

नेपालको पनि ८ अंक भए पनि जितले १० अंक हुनेछ भने हारले रनरेट कम हुने हुँदा ओमानभन्दा पछि पर्नेछ । 

यो खेल जित्दा नेपालले अपराजित रहँदै स्वतः शीर्ष स्थानमा रहेर उपाधि जित्नेछ । यो आफैँमा नेपालका लागि कीर्तिमान हुनेछ । 

सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिन पाउने छन् । 

नेपाल, ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । सबै खेल खेलेको कतार र जापान तथा एक खेल कम खेलेको र सामोआ बाहिरिइसकेका छन् । 

अहिले नेपाल र ओमानको ८–८ अंक छ भने यूएईको ६ अंक छ । कतारको ४ अंक छ भने जापानको २ तथा सामोआ अंकविहीन छ ।

नेपालले छनोटका यसअघिका सबै खेल जितेको छ । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ