यमराजका दूत कागलाई पूजा गर्दै आज काग तिहार मनाइँदै
शनिबारदेखि नै यमपञ्चक शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
882
Shares
काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन, प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (आइतबार) बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालका अनुसार बिहान सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज यो पर्व मनाउने निर्णय गरिएको हो।
शास्त्रीय विधानअनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मानिन्छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पारिन्छ। 'काकेन दधि भक्षितम्' अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा कागको विशेष पूजाआराधना गरिन्छ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै शुरु भएको हो। यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि शनिबार साँझदेखि नै शुरु भएको छ, जुन दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि हो।
यसैगरी, लक्ष्मीलाई स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।