तिहारका ती पाँच कालजयी गीत, जुन आज पनि गुञ्जिन्छन् देउसीभैलोमा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
820
Shares
काठमाडौँ । उज्यालोको पर्व तिहार घरआँगनमा आइसकेको छ। कार्तिक कृष्णपक्ष त्रयोदशीबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पार्ने, देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङ्गीतको पनि आफ्नै विशेषता छ। ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् र कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन्। नेपाली चलचित्रमा तिहारको प्रसङ्ग र गीतसङ्गीतलाई कथावस्तुसँगै समेटिएको पाइन्छ।
चलचित्र 'स्वर्ग' मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ गीत पच्चीस वर्षदेखि गाउँदेखि सहरसम्म गुञ्जिने सबैको रोजाइमा पर्ने गीत हो। शिव श्रेष्ठ र गौरी मल्ल प्रस्तुत भएको यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। त्यस्तै, चलचित्र ‘चिनो’ मा समावेश ‘दियो बाली साँझको’ गीतमा गायिका आशा भोस्लेले स्वर दिएकी छिन् र निर्देशक तुलसी घिमिरेले यसलाई कथावस्तुअनुसार प्रस्तुत गरेका थिए। मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’ मा समावेश ‘अधरमा आज उनकै छ’ पनि तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो।
गायक तथा सङ्गीतकार अर्जुन पोखरेलले नेपाली संस्कृतिलाई समेटेर बनाइएका यी गीतहरू अझै लोकप्रिय हुनुको कारणमा प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको बताए। पहिलेको समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग हुने र गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेकाले दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेको उनले उल्लेख गरे। नयाँ गीतहरू कमै बन्ने गरे पनि पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेकाले पछिल्लो समयका गीतले पुराना कालजयी गीतलाई विस्थापित गर्न नसकेको उनको भनाइ छ।