arrow

आज कुकुर तिहार र नरक चतुर्दशी

यमराजको दूतलाई पूजा र नरक नजान गरिने स्नान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
kukur-tihar232.jpg

काठमाडौँ। तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिथिको घटबढका कारण यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तेस्रो दिन पर्न गएको जनाएको छ। समितिका सदस्य एवं धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्छ।

धर्मशास्त्रविद् प्रा तोयराज नेपालका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक, सुरक्षामा भरपर्दो घरपालुवा जनावर र धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने जनावरका रूपमा लिइन्छ।

आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। यसरी बत्ती बालेर बगाउनुलाई 'नरके बगाउने' भनिन्छ।

आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलका अनुसार यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ, जसले शरीर स्वस्थ रहन्छ। त्यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ