arrow

हुम्लाको रोजगारी, स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्रतर्फको नयाँ यात्रा

logo
जनकबहादुर शाही,
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
tourism-humla-82-7-5.jpg

हुम्ला । हिमालपारिको आस्था र प्रकृतिको संगमस्थल हुम्ला अहिले नयाँ परिवर्तनको मोडमा छ । कैलाश–मानसरोवर तीर्थयात्रा पुनः सुरु भएसंगै यहाँको शान्त पहाडी जीवनमा आर्थिक र सामाजिक चेतनाको नयाँ लहर चल्न थालेको छ । धार्मिक पर्यटनको यस सिजनले स्थानीय रोजगारी, कृषि उत्पादन र बजार गतिविधिलाई नयाँ उचाइमा पुर्‍याएको छ । 

कोरोना महामारीपछि पहिलो पटक खुलेको कैलाश–मानसरोवर तीर्थयात्राका लागि सिमकोटदेखि हिल्सासम्म गत जुनदेखि सेप्टेम्बरसम्म करिब ७ हजार विदेशी धार्मीक पर्यटकहरु  भित्रिएका छन् । तीमध्ये ६ हजार बढी भारतीय तीर्थयात्री थिए । होटल, ट्रेकिङ, ढुवानी, गाइड र यातायात क्षेत्रमा तीन सयभन्दा बढी स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाएको सिमकोटमा लामो समयदेखि होटल ब्यबसाय गर्दै आएका पर्यटन ब्यबसायी विजय लामाले बताए । 


यस वर्ष पर्यटकलाई टेन्टमा होइन, होटलमै राख्न सक्यौं। यसले हाम्रा सेवाको स्तर पनि बढायो र स्थानीय रोजगारी पनि, हिल्सासम्म पर्यटक ओसार्ने हेलिकोप्टर, जहाज र ट्राभल एजेन्सीहरू समेत व्यस्त बनेका थिए । नेपालगञ्ज–सिमकोट रुटमा एकैदिन ८३ उडानसम्म भएका थिए।

लोड–अनलोडका काममा मात्रै २५ जना युवाले अस्थायी रूपमा रोजगार पाएको लामाले बताए । यो सिजनले स्थानीय कृषि उत्पादनमा पनि नयाँ मूल्य र माग ल्याएको छ। पहिले नेपालगञ्जबाट आयात हुने तरकारी र अन्नका ठाउँमा अहिले स्थानीय किसानका उत्पादन प्रयोग हुन थालेको स्थानिय अगुवा किसान जंगबहादुर शाहीले बताए ।  

यसपटक सबै होटलमा हुम्लाकै सागसब्जी आलु र अन्य तरकारी  प्रयोग भएको र धार्मीक पर्यटकहरु फर्कदा स्याउ, ओखर, फापर, सिमी र मार्सी चामलजस्ता उत्पादन कोसेलीका रूपमा लैजाने गर्दा यसले स्थानीय बजारमा नगद प्रवाह बढाएको छ भने किसानहरू पुनः अर्गानिक तरकारी र रैथाने खेतीतर्फ फर्किन थालेको उनले बताए ।

आर्थिक चहलपहल र स्थानीय लाभ

सिमकोट र हिल्साका होटलहरूले यस सिजनमा करिब ८ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । प्रत्येक पर्यटकबाट औसत १० हजार रुपैयाँभन्दा बढी आम्दानी भएको होटेल ब्यवसायी महासंघ हुम्लाका अध्यक्ष एवम् होटेल पोतला प्यालेसका संचालक मिन लामाले बताए । 

कोरोना महामारीले थिलोथिलो पारेको होटेल ब्यबसाय यस वर्षबाट पुन सुरु भएको कैलाश–मानसरोवर तीर्थयात्राले होटलहरू भरिभराउ भए र लगानी सुरक्षित हुने विश्वास ब्यवसायीमा बढेको होटेल ब्यवसायी महासंघ हुम्लाका अध्यक्ष लामाले बताए । तीर्थयात्रीहरू मौषमले साथ नदिदा बाहेक प्रायःसिमकोटमा १ रात र हिल्सामा १ रात बासब बसेको साँझ–बिहानको खानासहितको प्रतिदिन ३५०० रुपैयाँ  प्याकेज तय गरिएको  उनले बताए ।

हुम्लाका दुई गाउँपालिकाले तीर्थयात्रीबाट ७२ लाख राजस्व संकलन

कैलाश–मानसरोवर तीर्थयात्राका लागि सिमकोट र नाम्खा गाउँपालिका हुँदै आउने विदेशी धार्मिक पर्यटकहरूबाट यो वर्ष ७२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। चीनले कैलाश मानसरोवर तीर्थयात्रा खुला गरेसँगै भारतीय र अन्य विदेशी तीर्थयात्रीहरूको चाप बढेपछि हुम्लाको दुई गाउँपालिकाले संयुक्त रूपमा सरसफाइ शुल्कका रूपमा प्रतिव्यक्ति १ हजार रुपैयाँ उठाउने व्यवस्था गरेका थिए।

तीर्थयात्रीबाट संकलित राजस्वको ६० प्रतिशत सिमकोट र ४० प्रतिशत नाम्खा गाउँपालिकाले उपयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए । हाम्रो प्राथमिकता स्वच्छता र आतिथ्य होऽ यसै राजस्वबाट सिमकोट विमानस्थलमा आउने तीर्थयात्रीहरूको स्वागत–सत्कार, सरसफाइ, सुरक्षा र आवागमनका लागि परिचालन गरिन्छ।

आउने विदेशी धार्मिक पर्यटकहरूबाट हाल संकलित राजस्व आगामी वर्षका लागि सडक स्तरोन्नति, होटल विस्तार र पर्यटन सेवा स्तरीकरणमा खर्च गरिनेछ ।  तीर्थयात्री बढ्दै गएकाले भौतिक पूर्वाधार र सेवाको स्तर पनि उकास्न जरुरी छ, यसैले सिमकोटदेखि हिल्सासम्मको सडक सुधार र पर्यटकीय पूर्वाधार विकास हाम्रो आगामी प्राथमिक योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

नाम्खा र सिमकोट गाउँपालिकाले राजस्वको केही हिस्सा सरसफाइ र वातावरणीय संरक्षणका कार्यक्रममा लगानी गर्ने योजना बनाएका छन । तीर्थयात्रीहरूको आगमनसँगै फोहोर व्यवस्थापन र पानीको स्रोत संरक्षण पनि चुनौती बनेकाले यस क्षेत्रमा विशेष ध्यान दिइने नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।  

तीर्थयात्राबाट उठेको राजस्व केवल तत्कालीन सुविधा व्यवस्थापनमा सीमित नभई दीर्घकालीन पर्यटन पूर्वाधार र स्थानीय सीप विकासमा लगानी गर्न सके हुम्ला आत्मनिर्भर बन्न सक्छ । कैलाश–मानसरोवर तीर्थयात्रा अब धार्मिक आस्थासँगै आर्थिक अवसरको पनि पर्याय बन्दै गएको पर्यटन ब्यबसायी रन्जीन लामाले बताए ।

हुम्लाका लागि यो केवल एक सिजनको लाभ होइन, आत्मनिर्भर र स्थायी विकासको दिशातर्फको स्थायी यात्रा हो । जसले हुम्लालाई धर्म, संस्कृति र अर्थ एकै मार्गमा हिँडाउन सके हुम्ला आत्मनिर्भर अर्थतन्त्रको नयाँ मोडमा पुग्ने लामाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ