एनआईसी एशिया बैङ्कले लिलाम बिक्रीका सम्पत्तिबारे विस्तृत जानकारी उपलब्ध गराउने अनलाइन पोर्टल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
733
Shares
तस्बिर : फाइल
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले बैङ्कको नाममा रहेका बैङ्किङ सम्पत्ति, गैर-बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण ग्राहकहरूसमक्ष पारदर्शी ढङ्गले प्रस्तुत गर्न एक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैङ्कले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण—जस्तै कित्ता नम्बर, क्षेत्रफल, सम्पत्तिको फोटो, नक्सा तथा स्थान पहिचानका लागि नक्सा प्रणालीसहितका जानकारीहरू सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ।
ग्राहकहरूले बैङ्कले लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा उल्लेख गरिएको क्युआर कोड स्क्यान गरी सो पोर्टल (https://auctionassistance.nicasiabank.com) मा प्रवेश गरेर सम्पूर्ण विवरणहरू हेर्न सक्नेछन्। साथै, सम्पत्तिसम्बन्धी थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा रहेको सन्देश बाकसमा आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क विवरण उल्लेख गरी सन्देश पठाउन सकिनेछ।
बैङ्कले उक्त पोर्टललाई नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ, जसअन्तर्गत बैङ्किङ सम्पत्ति, गैर-बैङ्किङ सम्पत्ति, तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीका साथै सम्बन्धित अन्य सूचनाहरू पनि प्रकाशित गरिनेछ।
एनआईसी एशिया बैङ्कले विश्वास व्यक्त गरेको छ कि यस अनलाइन प्रणालीबाट खरिद गर्न इच्छुक ग्राहकहरूले सम्पूर्ण जानकारी सजिलै प्राप्त गरी पारदर्शी, छरितो र विश्वसनीय ढङ्गले लाभ लिन सक्नेछन्।