अलैंची, पश्मिना, गलौँचा, तयारी पोसाक, छुर्पीको पनि निर्यात बढ्याे
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
1k
Shares
काठमाडौँ । पछिल्लो समय निर्यातले फड्को मार्दै गएको छ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमास (साउन-असोज) सम्म नेपालको निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९दशमलव६४ प्रतिशतले बढी छ ।
भन्सार विभागको तथ्यांकअनुसार निर्यातमा शीर्ष स्थानमा सोयाविन तेल छ । असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ ।
कार्पेट दोस्रो स्थानमा छ, जुन दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । तेस्रो स्थानमा सूर्यमूखी तेल छ, जुन दुई अर्ब १३ करोड बराबरको भएको छ ।
विभागकाअनुसार २०८२/८३ को असोजसम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ ।
यो निर्यात गत आवको सोही अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो । गत २०८१/८२ को सोही अवधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७ सय ८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो ।
निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिन पुगेको छ । यसरी निर्यात बढ्नु सकारात्मक रहेको र राज्यले निर्यात गरिरहेकालाई प्रोत्साहन गर्ने हो भने अझै बढ्न सक्ने उद्योगी, व्यवसायी बताउछन् ।
नेपाल तयारी पोशाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल सरकारले निर्यातमा दिएको सुविधा बढाउने र अमेरिकी सरकारले जारी गरेको भन्सार दर लागू हुने हो भने निर्यात बढाउन कठिन नरहेको बताए ।
उनकाअनुसार अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ । यो भनेको न्यूनतम हो । त्यसभित्र पर्न सफल हुनु भनेको अन्त्यन्तै सह्रानीय र स्वागतयोग्य छ ।
अहिले लाग्दै आएको ट्यारिफमा १० प्रतिशत लगाइए पनि निकासी पहिलेभन्दा महँगो भए पनि अरू देशको तुलनामा यो धेरै कम हो । यो दर लागू हुने हो भने पनि नेपालले निर्यातमा फड्को मार्नसक्ने उनले बताए ।
तयारी पोशाक उद्योग संघ अध्यक्ष पाण्डेका अनुसार यस पटकको निर्यातको तथ्यांक हेर्ने हो भने १ः६ मा आइपुगेको छ ।
यसलाई अझै घटाएर हामीले व्यापार घाटा कम गर्न सकिन्छ । निर्यात गर्नेहरूलाई दिने सुविधामा राज्यले पनि हेरिदिने, अमेरिकाको ट्यारिफ साच्चिकै लागू हुने हो भने ३-५ वर्षमा व्यापार घाटा शून्यमा ल्याउन सक्नेछौँ। तयारी पोशाक, गलौँचा, पश्मिना, छुर्पी, दुग्घजन्य वस्तु, हर्बल, हस्तकला, हाते कागज जस्ता समानले व्यापार घाटा कम गराएर नेपालको विकासमा ठूलो टेवा पुर्याउछ ।’
उहाँकाअनुसार निर्यात बढ्दा ठूलो मात्रमा देशमा रोजगारी पनि सिर्जना हुन्छ । अर्थतन्त्र पनि सबल बनाउँछ । सबै उद्यमशीलतामा लाग्नेभएकाले यो क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्छ ।
अर्थविद् चन्द्रमणि अधिकारी स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो नभएको बताउछन् । उनकाअनुसार भारतको एउटा निर्णयले यसको निकासी ठप्प हुनसक्ने भएकोले अन्य वस्तुहरूको निकासी बढाउन नेपालले जोड दिनुपर्ने उनको भनाइ छ ।
‘निकासी बढ्नु राम्रो हो तर स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो होइन,’ उनले भने, ‘अन्य वस्तुहरूको निकासी बढाउन जोड दिनुपर्छ ।,’
यद्यपि नेपालले पछिल्लो पटक निकासीमा पाएको सफलता सकारात्मक रहेको उनको बुझाइ छ । अधिकारीकाअनुसार निकासी गर्नेहरूलाई राज्यले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने उनको बुझाइ छ ।