महिला एक दिवसीय विश्वकपमा भारतको कीर्तिमानी जित, अस्ट्रेलिया लगातार १५ जितपछि सेमिफाइनलमा पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.3k
Shares
तस्बिर – गेट्टि इमेजेज ।
नवी मुम्बई । भारत महिला एक दिवसीय विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । भारतले महिला एक दिवसीयमा सबैभन्दा धेरै रनको चुनौती हासिल गरी कीर्तिमानसहित फाइनलमा स्थान पक्का गरेको हो ।
भारतले ४८.३ ओभरमा ५ विकेटको क्षतिमा ३३९ रनको लक्ष्य हासिल गर्यो । भारतले यसै विश्वकपमा अष्ट्रेलियाले बनाएको रेकर्ड तोडेको हो । यस विश्वकपमा भारत विरुद्धको लिग खेलमा अष्ट्रेलियाले ३३० रनको लक्ष्य पछ्याएको थियो ।
जेमिमा रोड्रिग्स विश्वकप नकआउटमा सबैभन्दा धेरै रन बनाउने दोस्रो भारतीय बनिन् । उनले कप्तान हरमनप्रीत कौरसँग विश्वकपमा भारतको लागि सबैभन्दा धेरै साझेदारी पनि बनाइन् । दुवैबीच १६७ रनको साझेदारी भएको थियो । यो कुनै पनि विश्वकपको नकआउट चरणको सबैभन्दा बढी रनको साझेदारी हो । रोड्रिग्सले १३४ बलमा अविजित रहँदै १२७ तथा कौरले ८८ बलमा ८९ रन बनाइन् ।
जेमिमा रोड्रिग्स एक दिवसीय विश्वकप नकआउटमा भारतको लागि दोस्रो उच्चतम व्यक्तिगत स्कोर (पुरुष र महिला दुवै) बनिन्। उनले अविजित १२७ रन बनाएकी थिइन् । यसअघि हरमनप्रीत कौरले २०१७ को विश्वकपमा अष्ट्रेलियाविरुद्ध अविजित १७१ रन बनाएकी थिइन् । पुरुषतर्फ विराट कोहलीले २०२३ को एक दिवसीय विश्वकपमा न्यूजिल्याण्डविरुद्ध ११७ रन बनाएका थिए।
भारत तेस्रो पटक महिला एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो। टोली यसअघि २००५ र २०१७ मा उपविजेता बनेको थियो। भारत २००५ मा अष्ट्रेलिया र २०१७ मा इङ्गल्याण्डसँग पराजित भएको थियो।
खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै ३३७ रन बनायो । फोबे लिचफिल्डले ११९ रन बनाइन् । जवाफमा भारतले सहजै चुनौती पूरा गर्यो । आठ वर्षपछि अष्ट्रेलिया विश्वकपमा पराजित भएको छ ।
अष्ट्रेलियाली महिला टोलीले ८ वर्षपछि महिला एकदिवसीय विश्वकपमा हार बेहोरेको हो । यस अवधिमा टोलीले लगातार १५ खेल जित्यो । टोली अन्तिम पटक २०१७ मा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। फेरि एक पटक भारतले अष्ट्रेलियाको विजयी श्रृंखला तोडेको छ।
लिचफिल्ड विश्वकप नकआउट (सेमिफाइनल-फाइनल) खेलमा शतक बनाउने सबैभन्दा कान्छी खेलाडी बनिन् । अष्ट्रेलियाकी फोबे लिचफिल्ड महिला विश्वकप नकआउट (सेमिफाइनल-फाइनल) खेलमा शतक बनाउने सबैभन्दा कान्छी खेलाडी बनिन् । उनले २२ वर्ष १९५ दिनको उमेरमा शतक बनाएकी थिइन् । दुई दिनअघि मात्र दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्वार्डले २६ वर्ष १८६ दिनको उमेरमा इङ्गल्याण्ड विरुद्ध शतक बनाएकी थिइन् ।
अष्ट्रेलियाले महिला एक दिवसीय विश्वकपको एक संस्करणमा सबैभन्दा धेरै शतक बनाएको छ। यस टोलीले यस विश्वकपमा ६ शतक बनाएको छ। यसअघि यो रेकर्ड इङ्गल्याण्डको नाममा थियो, जसले १९९६ र २०१७ मा प्रत्येकले ५ शतक बनाएको थियो ।
फाइनल आइतबार
फाइनल खेल आइतबार हुनेछ । फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्ने छन् । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई सहजै १२५ रनले हराएको थियो ।