काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। उनी दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन त्यहाँ प्रस्थान गर्न लागेका हुन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेलले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने छन्।