तीन महिनामा साढे आठ अर्ब बढीको सवारीसाधन आयात, विद्युतीय सवारीमा वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
830
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७० करोड मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यस अवधिमा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात तथा सोबाट प्राप्त राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए। गत आर्थिक वर्षको सोही तीन महिनाको अवधिमा रु छ अर्ब १९ करोड मूल्य पर्ने सवारीसाधन आयात भएकोमा रु पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो।
चालु आवको तीन महिनामा रु तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार ९ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन्, जसबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ। गत आवको सोही अवधिमा रु दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार ४ सय ८९ वटा मोटरसाइकल आयात भएका थिए।
यस्तै, चालु आवको तीन महिनामा रु ६२ करोड २४ लाख मूल्य पर्ने ३ सय ३० वटा जीप, कार र भ्यान आयात भएका छन्। यी सवारीसाधनको आयातबाट रु एक अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ। तुलनात्मक रूपमा, गत आवको तीन महिनामा रु ७६ करोड ५८ लाख मूल्य पर्ने ४ सय ३२ जीप, कार र भ्यान आयात हुँदा रु एक अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो।
विशेषगरी विद्युतीय सवारीसाधनको आयातमा भने ठूलो वृद्धि देखिएको छ। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने २ सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्, जसबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ। गत आवको सोही अवधिमा रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात हुँदा रु नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो।